अपडेट 
२०७९ पुष २, शनिबार ०८:०४

जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आमनिर्वाचन पछि पहिलो पटक बोलाइएको राजनीतिक समितिको बैठकमा संघीय र प्रदेश चुनावमा भएको पराजयको विषयमा मन्थन हुने बताइएको छ ।

आमनिर्वाचनमा जसपाले अपेक्षाकृत चुनावको परिणाम ल्याउन सकेन् । नेकपा एमालेसित अन्तिम समयमा भएको तालमेल र चुनावको क्रममा विश्वासको संकटले जसपालाई बढी क्षति भएको नेताहरुले स्वीकार्न थालेका छन् । कार्यकारिणी समितिको बैठकले समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको नामको टुंगो लगाउने काम मात्र गरेको थियो ।चुनाव लगतै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पालिका, प्रदेश, क्षेत्र , प्रदेश कमिटी र जिल्ला कमिटीहरुलाई चुनावको समिक्षागरि प्रतिवेदन केन्द्रमा पठाउन १५ दिनको समय तोकेको थियो । सबै निकायबाट प्रतिवेदन प्राप्त भइरहेकाले पुस महिनाको १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाइएको केन्द्रिय आर्थिक विभागका प्रमुख समेत रहेको कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले जनाए । ‘निर्वाचनको विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाइएको छ ’ उनले भने, बैठक १८ र १९ गते पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो । ‘प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ ’ उनले भने, यस बाहेकको विषयपनि सदस्यहरुले राख्न सक्ने छन् । तालमेलको क्रममा जसपाको भागमा सिट नभएको प्रदेश र प्रतिनिधि सभामा एमालेले जसपाकै नेतालाई पार्टीमा प्रवेश गराएर टिकट दिएका थिए ।

तत्कालै जसपा छाडेर एमालेमा प्रवेश गर्ने नेताहरुले चुनावपनि जितेका छन् ।एमालेकै उम्मेदवारले बारा जिल्लामा जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवलाई पराजित गरेको, धनुषाको ४ मा महाजन यादव र निर्वाचन क्षेत्र नम्बर २ मा गंगाराम यादवको पराजयको कारण एमाले नै रहेको छ । अधिकांश क्षेत्रमा उम्मेदवार नभएकै कारण समानुपातिक मतपनि कम आएको बताइएको छ ।पार्टीका राष्ट्रिय अध्यक्ष यादवको पराजयको कारण क्षेत्र चयनमा त्रुटी, पार्टीकै केहि नेताहरुले गरेको घात लगायतका कारणहरु चुनावको नतिजा सार्वजनिक भएपछि खुल्न थालेका छन् ।यादवको चुनावमा पराजयको प्रमुख कारण क्षेत्र चयनमा गभीर त्रुटी रहेको सप्तरी जिल्लाका नेताहरुको बुझाई छ । गत चुनावको भन्दा यस चुनावमा प्रतिनिधि र प्रदेश दुबैमा सिट निकै घटेको छ । कतिपय क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार हरुबीच समेत तालमेल बिग्रेको कारणपनि चुनावमा पराजय भोग्नु परेको देखिन्छ । राजनीतिक समितिको बैठकमा मुख्य रुपमा चुनावको विषयमाथि नै छलफल हुनेछ ।जिल्लाहरुमा घात गर्ने, पार्टीका उम्मेदवारहरु बिरुद्ध खुलेर चुनाव प्रचार गर्ने उजुरीहरु समेत आएकाले बैठकमा छलफल हुने बताइएको छ । कार्यकारिणी समितिले टिकटको विषयमा समयमै निर्णय लिन नसकेको, अन्तिम समयमा टिकट वितरणको कारण बढेको असन्तुष्टिलाई व्यवस्थापन गर्न नसक्दापनि चुनावमा हार ब्यहोर्नु परेको धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट जसपाका प्रतिनिधि सभा उम्मेदवार गंगाराम यादवले बताए । आफ्नै पार्टीका नेताहरुले बिरोधमा लागेपछि तटस्थ र अन्य दलबाट आउने मतपनि बिग्रको उनको कथन छ ।

चुनावमा जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट पाएको छ । गत चुनावमा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकगरि २० सिट रहेको थियो । मधेश प्रदेशमा सबै भन्दा ठूला दल रहेको जसपाको ५ वर्ष नै सरकार रह्यो । मुख्यमन्त्री लालबाबु राउत निरन्तर रहेपनि चुनावमा तेस्रो नम्बरमाझरेको छ । मधेश प्रदेशमा सरकार बनाउन नेपाली काँग्रेस अथवा नेकपा एमालेसित तालमेल गर्न जसपाको बाध्यता भएको छ । गत चुनावमा २५ सिट प्राप्तगरि लोसपासितको तालमेलमा थप ५ सिट समेत ३० सिट रहेकोमा हाल १६ सिटमा खुम्चिएको छ । राजनीतिक समितिको बैठकमा मधेश प्रदेश सरकारको कारणपनि उम्मेदवारहरु पराजित भएको विषय उठ्ने कार्यकारिणी समितिका एकजना सदस्यले बताए ।

Comment

Related News