जनकपुरधाम । फरार सूचीका अभियुक्त महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीको बुबा राम प्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् ।
घरेलु हिंसा मुद्दाको फरार सूचीमा रहेका उनले विहीबार दिउँसो स्वयम अदालतमा हाजिर भई छोरा पंकजलाई थुना मुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका छन् । तर अभियुक्त रहेका व्यक्तिले मुद्दा दर्ता गराउनुभन्दा पूर्व पक्राउ गर्नुपर्ने कानूनी व्यवस्था रहेको अधिवक्ता रिंकु कुमारी यादवले जानकारी दिइन् । ‘अभियुक्तको हकमा पहिला थुन्नु, त्यसपछि सुन्नु पर्ने हुन्छ,’उनले भनिन्,‘तर उनले गुपचुप तरिकाले मुद्दा दर्ता गराएका छन् । अदालतले तीन दिने म्याद पनि जारी गरेका छन् ।’ पंकज अहिले श्रमिती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीको नियन्त्रणमा छन् । सोही मुद्दामा नेहाले ससुरा रामप्रवेशसँगै ६ जनालाई विपक्षी बनाएकी छन् । प्रहरीले अन्य अभियुक्तलाई फरार सूचीमा राखेका छन् । तर एक जना मात्रै पक्राउ छन् । महोत्तरी प्रहरीको फरार सुचीमा रामप्रवेशसँग उनको श्रीमती र छोरीहरु छन् ।


नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै विहीबार रामगोपालपुर नगरपालिकामा प्रर्दशन गरेकी थिइन् । पालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएका थिए । शुक्रबार उनीहरुलाई सर्त गराएर छोडिएको हो । उच्च अदालत जनकपुरकी सूचना अधिकारी नुतन झाले रामप्रवेश अदालतमै हाजिर भएर मुद्दा दर्ता गराएको पुष्टी गरिन् । तर उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीको कमजोरीले मुद्दा दर्ता भएको आरोप लगाइन् । प्रहरी कार्यालयले फरार सूचीमा रहेका व्यक्तिको विषयमा अदालतलाई बोधार्थ गरी जानकारी गराउनु पर्ने उनको भनाई छ । अदालतलाई जानकारी नहुँदा मुद्दा दर्ता भएको उनले बताइन् । आइतबार पंकजलाई अदालतमा हाजिर गराउने छन् । त्यसपछि दुबैतर्फको वकिलले बहस गरेपछि न्यायधिशले आदेश गर्ने छन् ।
please subscribe our official youtube channel below and support us.

