
मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका छन् ।
राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नगर क्षेत्र भित्रका शहिद परिवारलाई सहज जीवन निर्वाहका लागि उक्त राशि सहयोग गर्न थालेको हो । शुक्रबारसम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ । नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउन महिनादेखिकै मासिक भत्ता जोडेर सहयोग राशि प्रदान गर्न थालिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर नगर क्षेत्रभित्रका आधा दर्जनबढी व्यक्तिले ज्यान गुमाएका थिए । शहिदको बलिदानका कारण लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले संघीयता र नयाँ संविधान पाएसँगै संघीय, प्रदेश र स्थानीय सरकार मार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले शहिद परिवारको सम्मान र राहतका लागि उक्त योजना ल्याइएको कार्यवाहक नगरप्रमुख प्रविणको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले शहिद परिवारको जीवनस्तरमा सुधार ल्याउन नगरपालिकाले थोरै भएपनि सहयोग र सम्मानको प्रयास गरेको बताए । नगरपालिकाका लेखा अधिकृत सत्रुघन दासले मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जिवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको जानकारी दिँदै उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकताको प्रतिलिपी, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको बताए । विभिन्न चरणमा भएको मधेश आन्दोलन र त्यसपछि २०७३ साल फागुन २३ गते मलेठमा भएको तनावका क्रममा प्रहरीको गोली लागेका समेत गरी जिल्लाभरका ११ जना शहिद भएका थिए । नगरपालिकाको सो योजनाले शहिद परिवारलाई थोरै भएपनि राहत पुर्याएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ ।