अपडेट 
२०७९ पुष ३, आईतवार ०६:११

सत्तारुढ गठबन्धनका दोस्रो प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष औपचारिक रुपमा शनिवार प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा सघाउन औपचारिक रुपमा प्रस्ताव राखेको उनी निकट स्रोतले जनाएका छन् ।दुबै नेताबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका लागि चुनावको परिणाम सार्वजनिक भएपछि पहिलो पटक संवाद भएको बताइएको छ । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ’ स्रोतले भने, प्रचण्डले हालकै गठबन्धनबाट सरकारको नेतृत्वका लागि सहयोग गर्न देउवालाई आग्रह गरे । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको बताए । सो क्रममा नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न उनले आग्रह गरेको बताइएको छ । निर्वाचन आयोगले संघीय र प्रदेश दुबै तहको चुनावको सबै नतिजा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ ।आयोगले बुधवार राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनावको परिणाम हस्तान्तरण गरे लगतै सत्तागठबन्धनमा नयाँ प्रधानमन्त्रीका लागि छलफल सुरु भएको छ । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस सबै भन्दा ठूला दल हो ।कांग्रेसको प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट रहेको छ ।माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट रहेको छ । माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फबाट १४ सिट पाएको छ ।माओवादीको हैसियत गठबन्धनमा दोस्रो रहे पनि संख्यात्मक रुपमा निकै फरक रहेको छ ।नेकपा एस पार्टीले राष्ट्रिय दलको हैसियत प्राप्त गर्न नसके पनि प्रतिनिधिसभामा १० सदस्य रहेको छ ।राष्ट्रिय जनमोर्चाको १ सिट छ । सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले आमनिर्वाचनको मनोनयनपत्र दाखिला हुनु भन्दा २ दिन अगाडि बाहिरिएको थियो ।जसपाले एमालेसित तालमेल गरी चुनाव लडेका थिए । सत्तारुढ गठबन्धनलाई सरकार बनाउन २ सिट अपुग रहेको छ ।प्रचण्डले गठबन्धनमा जसपालाई ल्याउनु पर्ने पक्षमा रहेको छ ।

तर देउवाको रोजाई जनमत पार्टी रहेको देखिन्छ ।जनमतको प्रतिनिधिसभामा ६ सिट रहेको छ ।तर जसपासित १२ सिट रहेकाले नेकपा एसका सांसदहरु एमालेतिर लागे पनि सरकारलाई अप्ठ् यारो नहुने प्रचण्डको तर्क छ । प्रधानमन्त्रीका लागि देउवाले औपचारिक रुपमा मुख खोलेका छैनन् ।तर उनी आफ्ना निकटहरुसित अन्तिम पटक प्रधानमन्त्री बन्न चाहेको बताउने गरेका छन् ।प्रधानमन्त्री देउवाले प्रचण्डलाई गठबन्धनको बैठकमा छलफल गर्ने जवाफ मात्र दिएको स्रोतले जनाए । देउवाले सार्वजनिक रुपमा प्रधानमन्त्रीको औपचारिक प्रस्ताव कतै नगरेपनि प्रचण्डले भने सार्वजनिक रुपमा नै आगामी सरकारको नेतृत्वगर्ने अभिव्यक्ति दिदै आएका छन् । शनिवारको भेटमा प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको स्रोतले जनाएकोछ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको उनले बताए । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भने, गठबन्धनबाट नै सरकार बनाउने देउवाले प्रतिबद्धता जनाए । प्रचण्डलाई पहिलो चरणमा नै प्रधानमन्त्री बनाउन देउवा तयार छैनन् । देउवा निकट एक नेता भन्छन्, ‘गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति छ, तर पदको बाँडफाँट खास गरी प्रधानमन्त्रीमा सकस देखिएको छ ।’ देउवाले सहजै प्रधानमन्त्री पद नछाड्ने देखेपछि माओवादी नेताहरुले एमालेका दोस्रो वरियताका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । एमाले नेताहरुसँग निरन्तर सम्वादमा रहेका प्रचण्डले पार्टी महासचिव देव गुरुङलाई एमाले अध्यक्ष ओलीलाई भेट्न पठाएका थिए ।

यस्ता भेटवार्तापछि माओवादी नेताहरुले प्रचण्डलाई समर्थन गर्न एमाले तयार रहेको सन्देश दिने गरेका छन् । तर देउवाले पनि एमालेसँग सम्वाद गर्न नेताहरुलाई जिम्मेवारी दिएका छन् ।एमालेले कांग्रेससित न्यूनतम राष्ट्रिय सहमति बनाएर सरकारमा समर्थन गर्न चाहेको एकजना नेताले बताए । उनीहरुका अनुसार एमाले नेताहरुले कांग्रेसलाई एक्लै सरकार बनाए फ्लोरबाट समर्थन गर्ने सन्देश दिइरहेका छन् । ‘हाम्रो ७८ थपिदिनासाथ १६७ हुन्छ । ढुक्कले दुई वर्ष सरकार चलाउनुस् भन्ने एमालेबाट आइरहेको छ’, एक नेता भन्छन्, ‘सभापतिज्यूले त्यो जोखिमपूर्ण बाटो हिँड्न चाहनुभएको छैन ।’

Comment


Related News

Latest News

Trending News