राजविराजमा अत्याधुनिक प्रविधिबाट दन्तरोग उपचार सेवा सुरु गरिएको छ । राजविराज –६ का डा. नेहाकुमारी दासले संचालनमा ल्याएको शकुन्तला डेन्टल क्लिनिक एण्ड ओरोफेसियल केयर सेन्टरद्वारा दन्तको अत्याधुनिक प्रविधिबाट उपचार सेवा सुरु गरिएको छ ।
दुई वर्षअघि सेन्टर स्थापना गरी दन्त उपचार सेवा प्रारम्भ गरेकी संचालक डा. दासले सेवा विस्तार गर्ने क्रममा अलाइनर्स प्रविधि समेत भित्र्याइएकी छन् । डा. दासका अनुसार नेपालमा सर्वप्रथम काठमाण्डुमा केही दिन अघिमात्र यस्तो प्रविधिबाट उपचार सुरु भएकोमा त्यसलगत्तै राजविराजमा अहिले उक्त सेवा सुरु गरिएको छ । नेपाल डेन्टल एशोसिएशन सप्तरीको महासचिव समेत रहेकी डा.दासले यो प्रविधि दन्त रोगले पीडित बिरामीका लागि अत्यन्तै सहज, सरल र सस्तो पर्ने बताउँछन् । उनले विगतमा नमिलेका, बेरंगी, थोते र बाङ्गोटिङ्गो दातलाई क्लिप र तारको माध्यमले उपचार गरिदै आएकोमा अब अलाइनर्स प्रविधिबाट थोरै समयमा भरपर्दो उपचार सम्भव हुने बताइन् । प्रदेश १ र मधेश प्रदेशका साथै छिमेकी भारतका बिरामी समेत यहाँको स्वास्थ्य सेवाप्रति विश्वस्त होस् भन्ने उद्देश्यले दन्त उपचार सेवा बिस्तार गरिएको छ । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा सेन्टर बिस्तार गरेकी उनले बेला बेलामा दन्त रोगबाट सर्वसाधारणलाई जोगाउन सचेतना अभियान पनि चलाउने गरेकी छन् ।
‘उपचार मात्र होइन् उनले भनिन्, दाँतमा किरा लाग्ने कारण र यस रोगबाट बच्ने उपाय बारे पनि सचेतना बाड्ने काम थालेकी छु ।’ उनका अनुसार दाँतमा देखिने सानै समस्यामा पनि ध्यान नदिएपछि विकराल बन्न सक्छ । सप्तरी जिल्लामा मात्रै ३५ देखि ४० प्रतिशत बालबालिका तथा ६५ देखि ७० प्रतिशत वयस्कमा दन्त रोग देखिएको नेपाल डेन्टल एशोसिएशनको तथ्याङ्कले देखाएको छ । आफ्नै गामठाममा नयाँ प्रविधिबाट दन्त रोगको उपचार सेवा सुरु भएपछि दन्त रोगीहरुले राहत महसुस गरेका छन ।


