
तीन दिनदेखि संचालनमा रहेको जगन्नाथ महोत्सव शनिवार राजविराज सम्पन्न भएको छ ।
महोत्सवको अन्तिम दिन निकालिएको भगवान जगन्नाथको रथयात्रा नगरपरिक्रमा गरिरहँदा सहभागी हजारौं भक्तजनद्वारा लगाइएको हरेरामा, हरेकृष्णाको नाराले नगर क्षेत्र गुञ्ज्यमान भएको थियो । भगवान जगन्नाथको विशेष सुसज्जित प्रतिमासहित स्थानीय लक्ष्मीनारायण राधाकृण मन्दिरबाट निस्केको रथयात्रामा हजारौं महिला, पुरुष नाचगान गर्दै सहभागी भएका थिए । यात्रामा सर्वसाधारणदेखि राष्ट्रियसभाका सदस्य शेखर सिंह, नवनिर्वाचित प्रदेशसभा सदस्य सतीश सिंहका साथै पूर्वमन्त्री, पूर्वसांसद, विभिन्न पालिकाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयका बालबालिका गरी पाँच हजार भन्दा बढीको सहभागिता रहेको रथयात्राको समन्वयकर्ता लक्ष्मी नारायण राधाकृष्ण मन्दिर समितिका उपाध्यक्ष बिन्देश्वर प्रसाद बिन्दीले जानकारी दिए । रथयात्रा पुनः सोही मन्दिर प्राङ्गगनामा पुगि सम्पन्न भएको थियो । रथयात्रा धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएकाले यसको आयोजना गरिएको मूल आयोजक जगन्ननाथ रथयात्रा समितिले जनाएको छ । यस प्रकारको रथयात्रा जिल्लामै पहिलो पटक आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
तीन दिनसम्म चलेको महोत्सव अन्तर्गत नेपालका साथै भारत र दक्षिण अफ्रिकाका सन्त महन्तहरुबाट भजनकिर्तन, महायज्ञ, झाँकी, प्रवचन, प्रसाद वितरण लगायतका धार्मिक कार्यक्रम गरिएको थियो ।