
धनुषाको मिथिला नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
नागरिकलाई सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि मिथिला नगरपालिका–६ ढल्केवरमा अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाको मेयर महेन्द्र महतोले जानकारी दिए । महेन्द्र माध्यमिक विद्यालयको नाउँमा दर्ता कायम रहेको जिल्ला धनुषा साविक ढल्केवर गाविस वडा नं. ५ को कित्ता नं. ७१ को १ विघा चौध धुर क्षेत्रफलको जग्गा मध्ये १३ कठ्ठामा १५ शैया अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको छ । सो अस्पताल निर्माण गर्न डि.पि.आर. तयार गरेर मेयर महतोले मन्त्रालयमा दबाब दिएपछि सहमति दिएको थियो । १५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि मन्त्रालयको सचिवस्तरको बैठकबाट सहमति दिएको निर्णय गरेको मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जनाए ।
यस अघि मिथिला नगरपालिका ७ मा ट्रामा सेन्टर निर्माणको कार्य अगाडि बढाइएको छ ।