अपडेट 
२०७९ पुष ३, आईतवार १५:५८

मधेशी आयोगले सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरु उपचारकै अभावमा मृत्यु भएको घटना सम्बन्धी यथार्थ बुझी सो समस्याको निदानार्थ कार्य गर्न एक अनुगमन टोली पठाएको छ । आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाहरु प्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताएकी छन् ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरुको अल्पकालीन र दीर्घकालीन समाधानको लागि आयोगले विभिन्न समयमा सिफारिस र ध्यानकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा यस्ता समस्याहरु समाजमा यथावत रहेको बताएका छन् । अध्यक्ष दत्तले संवैधानिक निकायको सिफारिसहरु सरकारको लागि निर्देशन बराबर भएपनि सरकार संवेदनशील नहुनुले समाजमा गलत संदेश जाने बताएका छन् ।

आयोगले पीडित परिवारलाई राज्यले सबै प्रकारको सहयोग गर्न र बिरामीहरुलाई यथोचित स्वास्थ्य उपचार गराउन अपिल समेत गरेको छ ।

Comment

Related News