
प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दासलाई पक्राउ गरेको छ । महन्थ दासले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख रकम कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महन्थ दासको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोप छ । रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा दासलाई पक्राउ गरिएको छ । रुपन्देही जिल्लामा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका अन्य निकायहरूमा मुद्दा परेपछि महन्थ दासको नाउँमा रहेको बैंक खाता तथा अन्य सम्पत्तिहरू रोक्का भएको थियो । यस अघि गुठी संस्थानले दासको महन्थ पदलाई खारेज गरेको भएपनि उनी अदालतबाट स्थापित भएका थिए । महन्थ दासको नाउँमा रहेको रुपन्देही जिल्लाको सिद्धार्थनगर स्थित मेघा बैंकको खाता रोक्का गरिएको अवस्थामा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको कार्तिक ४ गते कीर्ते सही सहितका कागजात बनाएर बैंकमा फुकुवा पत्र पठाउँदै ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा जनकपुरधामका श्रवण यादवको नाउँमा ट्रान्सफर गरेका थिए । सोही विषयमा खोज तलास हुँदै गएपछि महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको दस्तखत कीर्ते गरी सही छाप गरेर रकम झिकेको रहस्य सार्वजनिक हुँदा जिल्ला प्रशासन कार्यालयले मुद्दा दिई महन्थको विरुद्धमा रुपन्देही अदालतले पक्राउ पुर्जी जारी गरेका थिए ।
रुपन्देही जिल्ला अदालतको आदेशमा सोही जिल्लाको प्रहरी कार्यालयको पत्रका आधारमा महन्थ दासलाई पक्राउ गरी आइतबार नै रुपन्देही जिल्ला पठाउने काम भएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । महन्थ दासले गुठी संस्थानको सयौं विघा जग्गा बिक्री गर्नुकासाथै पछिल्लो पटक जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा दुई जना चिकित्सकलाई बिक्री गरेपछि अहिले मंन्दिर नै कुरुप बनेको छ । मटिहानी स्थानको नाउँमा रहेको जनकपुरधामको वडा नं ८ र ७ को बजरंग चोक भन्दा पश्चिम भागमा रहेको कैयौ विघा जग्गा बिक्री गर्ने क्रममा महन्थ दासको भातिज तत्कालीन महोत्तरी जिल्ला शिक्षा कार्यालयका अधिकृत लाल झाको हत्या भएको थियो । अहिले महन्थ दासले जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा बिक्री गरेपछि त्यसमा भवन निर्माण भएको छ । डा. जामुन प्रसाद सिंहको नाउँमा सो भवनमा क्लिनिक पनि सञ्चालनमा रहेको छ । त्यसको विभिन्न पक्षबाट विरोध हुँदै आइरहेको छ ।