२०७९ पुष ४, सोमबार ०७:४४

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयता विरोधी शक्तिका कारण देश अहिले राजनीतिक भूमरीमा फसेको बताएका छन् । देशमा अहिले लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी शक्तिहरु सल्बलाउन थालेका कारण देश राजनीतिक दुर्घटनातर्फ धकेलिँदै गएको उनले बताए ।

रौतहटको गौरमा आइतवार जनता समाजवादी पार्टी नेपाल रौतहटले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि देशमा गणतन्त्र विरोधी शक्तिहरु सल्बलाउन थालेकोले मधेश आन्दोलनको बलमा स्थापित संघीयता नै धरापमा पर्ने खतरा बढेको बताएका छन्। संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्म निरपेक्षता विरोधी केही शक्तिहरु निर्वाचनको माध्यमले सांसदमा पहँुच बनाएकाले हजारौं मधेशी जनताको बलिदानको बलमा आएको गणतन्त्र कहीँ धरापमा पर्ने त होइन भन्ने चिन्ता बढेको अध्यक्ष यादवले बताए । लोकतन्त्र र गणतन्त्रको रक्षा जसपा बाहेक अरु कसैले गर्न नसक्ने बताउँदै उनले जसपा बिना राजनीतिक स्थिरता, सरकार निर्माण एवम् जनताको समस्या समाधान हुन नसक्ने उनले धारणा राखे। आफूहरुले विगतका दिनमा गरेको मधेश जन विद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउँदै उनले हजारौं मधेशी सपुतको शहादतको बलमा स्थापित संघीयतालाई आफूहरु कुनै हालतमा समाप्त हुन नदिने बताए । राजनीतिक अस्थिरताका कारण देश अहिले दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताउँदै उनले देशलाई दुर्घटनाबाट जोगाउन जसपाको काँधमा ठूलो चुनौती थपिएको बताए । उनले मंसिर ४ गते अघि पाँच दलीय गठबन्धनले जसपालाई समाप्त गर्ने षड् यन्त्र गरेको आरोप पनि लगाए ।



गठबन्धनले जसपालाई समाप्त पार्ने षड्यन्त्र गरेको भए पनि आफूले एमालेसंग तालमेल गरेर समाप्त हुनबाट पार्टीलाई जोगाएको उनले बताए । निर्वाचनमा गठबन्धन भित्रका दलले जसपालाई कम सिट दिएर आफूहरुलाई सिध्याउन खोजेको कारण आफूले नेकपा एमालेसंग तालमेल गरी चुनाव लड्ेको उनले बताए । विगतका दिनमा समेत आफूले नेतृत्व गरेको पार्टीहरूलाई विभिन्न देशी विदेशी शक्तिले समाप्त गर्न पटक पटक ठूलो षड्यन्त्र गर्नुका साथै सम्पूर्ण तागत लगाएको भए पनि आफूलाई कुनै फरक नपरेको बताउँदै उनले अहिले जसपालाई समाप्त गर्न जसले जति षड्यन्त्र गरे पनि जसपालाई कुनै फरक नपर्ने उनले बताए । पाँच दलीय गठबन्धनबाट अलग भएकै कारण जसपा राष्ट्रिय पार्टी बन्न सफल भएको समेत उनले बताए । एमालेसंगको तालमेलपछि देशभरि गरी जसपा प्रतिनिधिसभातर्फ ८१ र प्रदेशसभा तर्फ १४२ सिटमा लड्दा समानुपातिक मत बढी आएकोले जसपा राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको उनले बताए । उनले भने आफूहरु पनि गठबन्धनको चक्रब्यूहमा फसेको भए आफूहरुको पनि माधव कुमार नेपालको पार्टी जस्तो हालत हुन्थ्यो । गठवन्धन न छाडेकै कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए । चुनावमा केही सिट कम आउँदैमा जसपालाई कमजोर ठान्ने कुचेष्टा कसैलाई पनि नगर्न उनले चेतावनी दिए ।

निर्वाचनको परिणाम सोचे जस्तो नआए पनि आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल हुनु नै सबभन्दा ठूलो उपलब्धि रहेकोले आफ्नो पार्टी कमजोर भयो भनी कसैलाई हतोत्साहित नहुन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई उनले आग्रह गरे । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको रौतहट जिल्ला कमिटीलाई भंग गरिएको छ । रौतहटमा जसपाको अवस्था निकै कमजोर रहेकोले पुरानो जिल्ला कमिटिलाई विघटन गरी ५४ सदस्यीय नयाँ जिल्ला कमिटि गठन गरिएको छ । कार्यक्रममा जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, पार्टीका राजनीतिक समिति सदस्यहरु गोविन्द चौधरी, किशोरी यादव, राघो यादव, देवेन्द्र मिश्र, केन्द्रीय सदस्यहरु चुल्हाई राय, किरण ठाकुर, केन्द्रीय सदस्य एवम् प्रदेशका कृषि राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद फुलबाबु लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News