अपडेट 
२०७९ पुष ५, मंगलवार ०७:०३

जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला अध्यक्षमा श्याम विहारी यादव चयन भएका छन् ।

पार्टीमा लामो समयदेखि काम गर्दै आएको आधारमा सोमवार यादवलाई जसपाको जिल्ला अध्यक्षमा सर्वसम्मतले चयन गरिएको छ । यसअघिका जसपाको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले निर्वाचनको समयमा पार्टी नै छोडेर गएपछि त्यसबेला देखि नै अध्यक्ष पद रिक्त रहेको थियो । स्थानीय तहदेखि लिएर संघ र प्रदेशको निर्वाचनमा टिकट नपाँउदा विभिन्न नेताहरुले पार्टी छोडेर गएपछि जसपाको अवस्था रौतहटमा कमजोर भएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वयम आफ्नै रोहवरमा पुरानो जिल्ला कमिटी विघटन गर्दै नयाँ कमिटी निर्माण गरेका छन् । आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउनका लागि रौतहटमा पार्टीलाई थप मजबुत एवं बलियो बनाउन समितिलाई समायोजन गरिएको अध्यक्ष यादवले बताए । उनले सबैको सर्वसहमतिको आधारमा पार्टीमा लामो समयदेखि सक्रिय भइ इमान्दारीका साथ काम गर्दै आएका क्षमतावान एवं जोसिला युवा वर्गका नेतालाई प्रमुख पदहरुको जिम्मेवारी दिदै ६१ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् । जसपाको जिल्ला उपाध्यक्षमा २ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा मोहम्मद कलिमुल्लाह र अमृत चौधरीलाई चयन गरिएको छ ।

यस्तै, सचिवमा लखिन्द्र यादवलाई चयन गरिएको छ भने सह–सचिवमा तीन जना जयराम महतो, शम्भु यादव र दिनेश कुमार यादवलाई चयन गरिएको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए । कोषाध्यक्षमा वृज मोहन साह र सदस्यहरुमा राजीव कुमार यादव, अमरुल हक, नुरुल होदा, दिलीप यादव, पारस भण्डारी, उपेन्द्र यादव लगायतलाई चयन गरिएको छ । यसैबीच पदाधिकारी चयनमा जसपा भित्रका केही नेताले असन्तुष्टि जनाएका छन् । पार्टीको लागि इमान्दारी पूर्वक काम गर्ने इमान्दार कार्यकर्तालाई पाखा लगाउदै नेतृत्व पंक्तिले पार्टीसंग पटक पटक अन्तर्घात एवं विश्वासघात गर्ने, निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने अन्तर्घात गर्नेलाई प्रमुख पदको जिम्मेवारी दिएको भन्दै युवा नेता राजीवकुमार यादवले विरोध गर्दै असन्तुष्टि जनाएका छन् । आफूले पार्टीको लागि ठूलो त्याग र परिश्रम गरेको भए पनि पार्टीले जिम्मेवारी दिने बेलामा आफ्नो त्याग तथा मिहिनेतको कुनै मूल्यांकन नै नगरी एक पक्षीय ढंगले कमिटी निर्माण गरेको भन्दै यादवले दुखेसो गरे ।

Comment


Related News

Latest News

Trending News