माड्वारी समुदायले आराध्यदेवको रुपमा पुज्दै आएको खाटु श्यामबाबाको दुई दिवसीय महोत्सव सोमबारदेखि सप्तरीको राजविराजमा सुरु भएको छ ।
महोत्सवको पहिलो दिन स्थानीय शिवमन्दिर प्राङ्गणबाट निस्केको झाँकी, बाजागाजा र लावालस्करसहितको निशान शोभायात्रा नगरपरिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो । निशानयात्रामा माडवारी समुदाय मात्र होइन् हिन्दु धर्मावलम्बीका अन्य जातजातीका समेत सयौं महिला पुरुष नाचगान गर्दै सहभागी भएका थिए । भगवान राम, सीता, राधाकृष्ण, हनुमान लगायतका भूमिकामा सजिएका स्थानिय तथा छिमेकी राष्ट्र भारत कलकत्ताका कलाकारहरुले नगरपरिक्रमाका क्रममा गरेको धार्मिक कलाप्रदर्शनले सबैको ध्यान तानेको थियो । बालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दीपक, स्वेता अग्रवालका साथै स्थानीय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुत गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए । उक्त धामिर्क कार्यक्रममा नेपाल र भारतका सन्त, महन्थहरुबाट प्रवचन कार्यक्रम पनि प्रस्तुत गरिने समितिका अर्का सदस्य श्याम अग्रवालले बताए ।
उक्त महोत्सव प्रत्येक वर्ष आयोजना हुँदै आएकोमा कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । यसपल्ट भव्य रुपमा मनाउन लागिएको महोत्सवमा व्यापक सहभागिता जनाउन महोत्सव तयारी समितिका सदस्य मनोज मुन्धडाले सबैसँग आग्रह गरेका छन् । महोत्सवमा २५ हजार भन्दा बढी भक्तजनको सहभागिता रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले जनाएको छ ।


