
प्रतिनिधिसभामा नव निर्वाचित सांसदहरुको आगामी ७ पुसमा शपथ ग्रहण हुने समय तोकिए पनि मधेश प्रदेश सभामा निर्वाचित प्रदेश सांसदहरुको शपथ ग्रहणको समय अन्योलमा छ ।
प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)का सांसद गोविन्द्र बहादुर न्यौपाने बिरामी हुँदा अहिले सम्म प्रदेशका शपथग्रहणको समय तोकिन नसकिएको मधेश प्रदेश सभ सचिवालयका सचिव रंजित यादवले बताए । ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्था ठिक छैन, उहाँ विरामी हुनुहुन्छ, सचिव यादवले भने,‘ भोलि उहाँलाई भेटेर छलफल पश्चात शपथग्रहणको टुंगो लगाउछौ ।’ ज्येष्ठ सदस्य न्यौपाने सप्तरीबाट निर्वाचित भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्यलाई शपथ गराएपछि उनी बाँकी नव निर्वाचित प्रदेश सांसदहरुलाई शपथ गराउने सचिव यादवले बताए । मधेश प्रदेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १ सय ७ सदस्य रहेका छन् ।
केन्द्रको निर्णय कुर्दै सांसद
निर्वाचन आयोगले निर्वाचित सबै सांसदलाई परिचयपत्र दिइसकेको छ । दलहरु केन्द्रमा नेता चयन गर्न व्यस्त छन् । सरकार बनाउन पनि शीर्ष नेताहरुको दौडधुप जारी नै छ । तर केन्द्रीय नेताहरुले प्रदेश बारे कुनै निर्णय नगर्दा प्रदेशमा सरकार गठन तथा दलको नेता बारे अन्यौलता देखिएको छ ।
मधेश प्रदेशमा यसपालि सात वटा दल संसदीय दलको रुपमा प्रतिनिधित्व गर्दै छन् । यद्यपि प्रदेशमा पनि दलको नेता बन्न आकांक्षी तथा सरकार बनाउने विषयमा प्रमुख दलहरुले आन्तरिक गृहकार्य गरिरहेका छन् । तर उनीहरु मुख्य रुपमा सरकार बनाउनेदेखि लिएर दलको नेता चयनको लागि पनि केन्द्रकै भर परेका छन् । उनीहरु केन्द्रको निर्णय कुरिरहेको देखिन्छ । नेपाली कांग्रेसमा दलको नेता बन्ने आकांक्षी बढी देखिएको हुनाले चुनाव हुने सम्भावना छ । तर केन्द्रले निर्णय गरेर प्रदेश समितिलाई जिम्मेवारी दिन नसकेको हुनाले दलको नेता चयन प्रक्रिया अगाडि नबढेको पूर्व मन्त्री तथा वर्तमान सांसद रामसरोज यादवले जानकारी दिए । ‘केन्द्रले प्रदेश समितिलाई जिम्मेवारी दिन्छ । समितिले आकांक्षी बारे छलफल गर्नेछन्,’उनले भने,‘सहमतिमा दलको नेता चयन नभए चुनाव हुन्छ ।’ नेपाली कांग्रेसमा प्रदेश समितिलाई जिम्मेवारी दिएपछि तीन सदस्य समिति बन्ने छन् । उक्त समितिले दलको नेता बारे छलफल प्रारम्भ गर्नेछन् । दलको नेता चयन भएपछि ७१ वर्षीय सांसद गोविन्द बहादुर न्यौपानले ज्येष्ठताको आधारमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।