
प्रदेशसभा सदस्य किरणकुमारी साहले सप्तरीको विकासका लागि नयाँ खाका तयार गरी अघि बढ्ने बताएकी छन् ।
कानून व्यवसायीसमेत रहेकी साह जनता समाजवादी पार्टी (जसपा) बाट पहिलो पल्ट मधेश प्रदेशको समानुपातिक सांसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् । हिंसामा परेकी महिला तथा विपन्न समुदायका नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएकी उनी मंगलबार राजविराजमा मलेठस्थित शहीद स्मारक स्थलमा माल्यार्पण पश्चात् संचारकर्मीहरुसित कुराकानी गर्दै सप्तरीको विकासका लागि नयाँ खाका तयार गरी अघि बढ्ने जनाएकी छन् । जिल्लाका सबै जनप्रतिनिधि, बुद्धिजीवि र सरोकारवालासँग गहन छलफल गरी विकास निर्माणको खाका सार्वजनिक गर्ने र सोही अनुसार प्रदेश सरकारमार्फत कार्यान्वयनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएर काठमाण्डुबाट फर्के लगत्तै मलेठ घटनाका शहीदहरुप्रति सम्मान व्यक्त गर्न पुगेकी, पार्टीले न्याय गरे, अब जनतासँग न्याय गर्ने पालो मेरो । उनले व्यक्तिगत हित भन्दा पनि सामूहिक हितका काममा आफूलाई प्राप्त बजेट खर्चिने बताइन् । जिल्लाको विभिन्न सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनले बताइन् । जिल्लाको एकीकृत विकासका लागि सबै जनप्रतिनिधि एक भएर अघि बढ्न सके आफूले बनाउन लागेको खाकाले सार्थकता पाउने उनको विश्वास छ । उनले प्रदेशसभामा सम्मानजनक सिट ल्याएको आफ्नो पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने र त्यो स्वभाविकै रहेको जिकिर समेत गरिन । अधुरा काम पूरा गर्न र जनताको आंकाक्षा पूरा गर्न जसपाले नै मधेश प्रदेश सरकारको नेतृत्व लिनुपर्ने उनको जोड छ । सप्तरीले मधेश प्रदेशमा महिलातर्फ पाँच जना समानुपातिक सांसद पाएका छन्
। कांग्रेसबाट निलम कुमारी रजक, जनमत पार्टीबाट बबिताकुमारी राउत इसर र रन्जु कुमारी मण्डल खंग, माओवादी केन्द्रबाट मालाकुमारी कर्ण तथा जसपाबाट साह समानुपातिक सांसद छानिएका छन् । माओबादीबाट समानुपातिकमा परेकी कर्ण उपर एक पक्षबाट सर्वोच्च अदालतमा मुद्दा परेका कारण हाल उनलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको जनाइएको छ ।