२०७९ पुष ६, बुधबार ०७:४८

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सोमबार राति वन्यजन्तु शिकार गरिरहेको अवस्थामा पाँच जना शिकारी पक्राउ परेका छन् ।

गस्तीमा रहेको निकुञ्जको विशेष गस्ती टोलीले उनीहरुलाई पर्साको जमुनिया खोलाबाट मृत जरायो र हातहतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र काभ्रे नासिक गाविस ६ का मालदोङ्ग तामाङ रहेका छन् । निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेपछि उनीहरुलाई पछ् याउदै जाँदा जमुनिया खोलाबाट उनीहरुलाई नियन्त्रणमा लिएको छ । शिकारी समूहले निकुञ्जको गस्ती टोली देखेपछि गोली प्रहार गरेपछि दुबैतर्फबाट दोहोरो फायरिङ समेत भएको थियो । आरक्षको गस्ती टोलीले तस्कर समूहको गाडीको टायरमा गोली हानी गाडीसहित शिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

गस्ती टोलीले उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक, त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नेपाली रुपैयासहित एक हजार दुई सय भारु नगद, नाईटभिजन बाईनाकुलर, आईफोन १४ प्रो म्याक्स मोवाइलसहित अन्य ५ थान मोवाइलसमेत बरामद गरेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

Comment

Related News

Latest News

Trending News