अपडेट 
२०७९ पुष ६, बुधबार ०८:०७

विद्यालयबाट साइकल चढेर घर फर्कदै गरेकी एक छात्राको टिपरको ठक्करले ज्यान गएपछि सप्तरीको रुपनी बजार मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको थियो ।

आक्रोशित विद्यार्थी, आफन्त र स्थानीयले ठाउँठाउँमा टायर बालेर चर्को प्रदर्शन तथा पूर्वपश्चिम राजमार्गको रुपनी खण्डमा आवागमन ठप्प पारेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र आसु ग्यास प्रहार गरेको थियो । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवका अनुसार बिहान ९ बजेतिर राजविराज–रुपनी सडक खण्डमा विद्यालयबाट घर फर्किदै गरेकी रुपनी गाउँपालिका १ का शंकर यादवका १२ वर्षीया छोरी रिताकुमारीको ना.१क. ८५४२ नं.को टिपरले ठक्कर दिँदा ज्यान गएको छ । उनको बुवा बैदेशिक रोजगारमा छन् । स्थानीय रायपुर उच्च माविमा कक्षा ६ मा अध्ययनरत उनको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित विद्यार्थी तथा स्थानीयवासीले चक्काजाम गरी ठक्कर दिने गाडी तथा नजिकै रहेको इलाका प्रहरी कार्यालय रुपनीमा ढुंगामुढा र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुका साथै १३ राउण्ड हवाई फायर र ८ राउण्ड आसु ग्यास सेल प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय रुपनीको झ्यालका सिसाहरु फुटेका छन् भने दुई जना प्रहरीलाई चोट लागेको छ । ठक्कर दिने गाडी र चालक भुपाल चौधरीलाई नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाइएको तथा स्थिति नियन्त्रणमा रहेको उनले बताए ।

स्थानीयले भने प्रहरीले समेत ढुंगामुढा गरेको र सो क्रममा स्थानीय सन्तोष यादव र श्रवण यादव घाइते भइ उपचारका लागि युनिक अस्पतालमा भर्ना गरिएको छ । आक्रोशित विद्यार्थी र आफन्तले चालकमाथि सवारी ज्यान मुद्दा अन्तर्गत कारबाही हुनुपर्ने, उक्त सडकखण्डमा बाटो नै अवरुद्ध हुने गरी जथाभावी बालुवा, गिटी थुपार्ने निर्माण कम्पनीमाथि कारबाही हुनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार, टिपरहरुमा टाइमकार्ड लागु तथा बल प्रयोग गर्ने प्रहरीमाथि विभागीय कारबाही हुनुपर्ने माग गरेका छन् । यसैबीच आन्दोलनकारी, मृतकका आफन्त, गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा प्रहरी अधिकारीबीच भएको तीन घण्टा लामो छलफल सहमति नजिक पुगेपछि मंगलबारै साँझदेखि आवागमन सूचारु गरिएको छ । आन्दोलनकारीले उठाएका मागहरु बारे बुधबार राजविराजमा आन्दोलनकारी पक्ष, मृतकका आफन्तसमेतको सहभागितामा सर्वपक्षीय बैठक बसी सम्बोधनका लागि पहल गर्ने प्रहरी प्रशासनको प्रतिबद्धता आएपछि हालका लागि आन्दोलन कार्यक्रम स्थगित गरिएको स्थानीयवासी नर्मदेव यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News