अपडेट 
२०७९ पुष ७, बिहीबार ०९:३७

प्रतिनिधिसभाका सांसदहरूले आज शपथ लिँदै छन् । दिउँसो १ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम छ । शपथ ग्रहणसँगै नयाँ संसद्को कार्यकाल सुरु हुनेछ । शपथ लिन जाने सांसदहरू ११ बजेभित्र नयाँ बानेश्वरस्थित संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)मा पुग्नुपर्नेछ।

साथै, शपथमा राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । शपथ ग्रहणमा जाँदा सांसदहरूले निर्वाचन आयोगबाट लिएको प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि तथा २ वटा पासपोर्ट साइजका फोटो अनिवार्य लैजानुपर्नेछ ।

प्रतिनिधिसभामा यस पटक १२ वटा राजनीतिक दल र ५ वटा स्वतन्त्र सासंदले सहभागिता जनाउँदै छन् । पहिलो दल बन्दै नेपाली कांग्रेस ८९ जना सांसदसहित संसद्मा उपस्थित हुनेछ भने दोस्रो दल बनेको नेकपा एमालेसँग ७८ जना सांसद छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)सँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ र जनता समाजवादी पार्टीसँग १२ जना सांसद छन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३ र राष्ट्रिय जनमोर्चा तथा नेपाल मजदुर किसान पार्टीका १/१ जना सांसद छन् । प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भए पनि राष्ट्रिय दलको मान्यता भने ७ वटा दलले मात्र पाएका छन् ।

प्रत्यक्षमा न्यूनतम १ सांसद विजयी र समानुपातिक मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्थाअनुसार ७ वटा दल मात्र राष्ट्रिय दल बनेका हुन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

राणाले गराउनेछन् शपथ

सांसद्मध्येका ज्येष्ठ सदस्यले सांसदहरूलाई शपथ गराउने व्यवस्थाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकमार्फत सांसद बनेका पशुपतिशम्शेर राणाले सासंदहरूलाई शपथ गराउनेछन्। राणाले बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालगायतको उपस्थितिमा राणाको शपथ ग्रहण भएको थियो। नागरिकता प्रमाणपत्रमा उनको जन्म मिति २४ मङ्सिर १९९८ छ।

नागरिकताका आधारमा राणाभन्दा नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्र राय यादव जेठा छन् । निर्वाचन आयोगको विवरणअनुसार यादवको उमेर ८५ वर्ष छ । तर, नागरिकताका आधारमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै यादवले शपथ ग्रहण गराउन अस्वीकार गरेका थिए।

८१ वर्षका अर्का सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राणाभन्दा १ महिना २६ दिनले कान्छो रहेकाले राणा नै ज्येष्ठ सदस्य बनेका हुन्। सभामुख र उपसभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्येका ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्थाअनुसार अब राणाले नै नयाँ सभामुख चयन नहुन्जेल संसद्को अध्यक्षता गर्नेछन्।

शपथअघि सर्वदलीय बैठक

शपथ ग्रहण कार्यक्रमभन्दा पहिले सर्वदलीय बैठक बोलाइएको छ। संसद्का ज्येष्ठ सदस्य राणाको अध्यक्षतामा सर्वदलीय बैठक आह्वान गरिएको हो। संसद् सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रमभन्दा १ घन्टा अघि अर्थात् १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दल र स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ।

आ–आफ्नो दलको प्रतिनिधित्व गर्दै प्रत्येक दलबाट १/१ जना र ५ जना स्वतन्त्र सांसदहरू सर्वदलीय बैठकमा उपस्थित हुनेछन्। सर्वदलीय बैठकमा सांसदहरूको शपथ, उनीहरूले पाउने सेवा, सुविधालगायत विषयमा जनकारी गराइने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

शपथ ग्रहण कार्यक्रममा सचिवालयले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई आमन्त्रण गरेको छ। शपथपछि सांसदका साथै पाहुनाहरूका लागि सचिवालयले संसद् भवन परिसरमा चियापानको समेत आयोजना गरेको छ ।

Comment


Related News

Latest News

Trending News