
धिनुषाको सामुदायिक विद्यालय बिहीवार बन्द रहने भएको छ । धनुषाको तीन पालिकाले शिक्षकहरुलाई तलव नखुवाएको विषयमा विद्यालय बन्दको घोषणा गरिएको छ ।
शिक्षक संगठनहरुले तलव भत्ताको माग गर्दै विद्यालय बन्द गरेका छन् । नगराइन नगरपालिकामा शिक्षकहरु करिब एक महिनादेखि धर्नामा छन् । कमला र क्षीरेश्वरनाथ नगरपालिकाले पनि चालु आर्थिक वर्षमा हालसम्म शिक्षकहरुको तलब भत्ता खुवाउन सकेको छैन् । यी तीनै पालिकामा नगर परिषद् नहुँदा तलव खुवाइएको छैन् । यद्यपि बुधबार क्षीरेश्वरनाथ नगरपालिकाले नगरसभा सम्पन्न गरेका छन् । कमला नगरपालिकाले पनि साधारणसभा गरिसकेका छन् ।
तर त्यहाँ उप्रमुखसहितको जनप्रतिनिधिले उच्च अदालतमा नगरसभा खारेजीको माग गर्दै मुद्दा दिएका छन् । सोही मुद्दाको फैसला नभएसम्म तलव भत्ता खुवाउन पालिकालाई रोक लगाइएको छ । तलब भत्ताको माग गर्दै गएको मंसिर १८ गतेदेखि शिक्षकहरुले नगराइन नगरपालिका कार्यालय अगाडि धर्ना बस्दै आएका छन् । नगराइनमा नगर परिषद् गर्ने धेरै पटक प्रयास गरिए पनि परिषद् हुनसकेको छैन् । यहाँ अल्पमत र बहुमतको विवाद छ । एक पक्षले उपभोक्ता समिति गठन सम्बन्धी पालिकाको कार्यविधि संशोधन गर्ने माग राखेका छन् भने अर्को पक्ष संशोधन गर्न तयार छैन् ।