
दिनभर मजदुरी गरेर कमाएको पैसा रात परेपछि रक्सीमा उडाउने गरेका पति हिरवा सदालाई सम्झाउने प्रयास गर्दा तीन महिना अघि गर्भवती अवस्थामै कुटपिट गरी घर निकालामा परेकी सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनिया टोलकी रन्जामाथि अहिले अर्को विपद् आइपरेको छ ।
६ महिनाको गर्भ बोकेकी २२ वर्षीया रन्जनाको २० महिनाको छोरी सिर्जना कुपोषणबाट ग्रसित भएपछि विपद्माथि उपचारको अर्को भारी थपिएको छ । अर्काको खेतमा मजदुरीले जिविका धान्दै आएका सदा दम्पत्ति लहरनिया टोलमा ऐलानी २ धुर जग्गामा बनाइएको फुसको झुप्रोमा बसोवास गर्दै आएका छन् । पछिल्लो पटक दैनिक जसो पति हिरवा मजदुरी गरे वापत साहुबाट पाउने ज्याला रक्सी सेवनमै खर्चिन थालेपछि आफूले प्रतिवाद गरेको रन्जना बताउँछन् । सोही क्रममा विवाद हुँदा गत असोज ७ गते पतिले कुटपिट गर्दै घर निकाला गरिदिएको उनी बताउँछन् । हाल उनी कन्चनरुप नगरपालिका १० बदगामा टोलस्थित माइतमा सरण लिन पुगेकी छन् । उनको बुवाको पनि दुई वर्षअघि निधन भइसकेको छ भने आमा मानसिक सन्तुलन गुमाइ घरकै एक कोठामा सीमित हुन पुगेकी छन् । माइती बसाइकै क्रममा उनको २० महिनाको छोरी सिर्जना कुपोषणको सिकार भइन् । दुई दिनअघि उनी छोरीलाई लिएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह हाताभित्र संचालनमा रहेको पोषण पुनः स्थापना गृहमा पुगेकी छन् । उनलाई पोषण गृहको ४ नं. बेडमा राखी उपचार थालिएको छ । ‘शिशुको अवस्था हेर्दा कुपोषणले अति ग्रसित छ, गृहकी प्रमुख रश्मी झाले भनिन्, शिशुको शरीरमा मासु छैन्,छाला र हाड मात्र देखिन्छ ।’ उनले आफ्नो १० वर्षे जागिरे जिवनमा यस्तो जटिल खालको कुपोषित बच्चा पहिलो पल्ट देखेको बताइन् । ‘यो बच्चाको अवस्था अत्यन्त कडा खालको कुपोषणको अवस्था हो, उनले भनिन्, समयमै ध्यान नदिइए बच्चाको अवस्था थप जटिल हुनसक्छ ।’ सामान्यतः २० महिनाको बच्चाको तौल कम्तीमा साढे ११ किलो हुनुपर्नेमा सिर्जनाको तौल ४ किलो मात्र भएको उनले बताइन् ।
पोषण गृहमा राखेर उपचार सुरु गरिए पनि थप उपचार आवश्यक रहेको र एक पल्ट धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिषठनमा लगेर विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण गराउन जरुरी देखिएको उनले बताइन । आमालाई पोषिलो खानाको अभावमा दुध नपुगेर बच्चामा यस्तो कडा कुपोषण देखिएको उनको भनाइ छ । आमा छोरी पोषण गृहमा आउँदा उनीहरुले जिउमा लगाएको बाहेक अर्को लुगा समेत थिएन् । पोषण गृह पुग्न अघि मिनरल वाटरको खाली बोतल लिएर बच्चालाई खुवाउन दुध माग्दै होटलमा पुगेकी उनको अवस्था देखेर एक होटल धनीले दुधका साथै चुसाउनका लागि निप्पलसमेत किनेर दिएको रन्जना बताउँछन् । सोही बोतलमा दुध चुसाउँदै बच्चा लिएर पोषण गृह आइपुग्दा आफूहरु चकित र उनको अवस्था देखेर आँखा रसाएको पोषण गृहकी प्रमुख झाले सुनाइन् । यस्तो अवस्थामा थप उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताएको रन्जना सुनाउँछन् । ‘म गर्भवती महिला कुपोषितले ग्रस्त बच्चाको हेरचार गर्नुकी कमाउन जानु ? उनले दुखेसो पोख्दै भनिन, सामान्य खाना त पुग्दैन कहाँबाट पौष्टिक आहार खुवाउनु ।’ कडा खालको कुपोषणले ग्रसित भएपछि सहयोगको याचना गर्दै स्थानीय तहदेखि अन्य साहु महाजनका पुगे पनि कतैबाट सहयोग पाउन नसकेको उनको गुनासो छ । घरबारविहीन भएको अवस्थामा आइपरेको अर्को विपद्को सामना गर्न उनले सबैलाई सहयोगका लागि आग्रह गरेकी छन् ।