अपडेट 
२०७९ पुष ८, शुक्रबार ०८:०९

मधेश प्रदेशसभामा बैठकको तयारी भइरहेको छ । अर्को साताको आइतबार वा सोमवार सर्वदलीय बैठक बसेपछि प्रदेश सभामा नव निर्वाचित प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहणको मिति तय हुने भएको छ । सर्वदलीय बैठकले नै प्रदेश सभाको नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण जस्ता विषयमा छलफल हुने भएको छ ।

शपथ ग्रहणको मिति तोकिनु अघि प्रदेश सभाको सरसफाइ, टेबल कुर्सीको व्यवस्थापन, माइकको अवस्थाहरूको परीक्षण गर्ने काम भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले जानकारी दिए । नयाँ दलहरू प्रवेश भएकाले उनीहरूको व्यवस्थापन प्रदेश सरकारको निर्माण भएपछि मात्र हुने सचिव यादवले जानकारी दिदै अहिले भएको संरचनाको प्रयोगमा शपथ ग्रहण सहितको कामकाज हुने भएको छ । शपथ ग्रहणका लागि प्रदेशसभामा निर्वाचित मध्ये ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् । मधेश प्रदेशमा यस पटक दलहरूको संख्या बढेको छ ।

गत निर्वाचनमा निर्वाचित भएका ६ दल प्रदेशसभामा निर्वाचित भएकोमा पछि गएर नेकपा एकीकृत समाजवादी एमालेबाट विभाजित भएपछि ७ दल भएकोमा यस पटक प्रदेशसभामा १० वटा दलको सहभागिता रहने छ । प्रदेश सभामा नयाँ पार्टीको रुपमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपस्थिति रहेको छ । प्रदेश सभाको निर्वाचनमा नयाँ दलको रुपमा जनमत पार्टीले प्रत्यक्ष तथा समानुपातिक गरेर १३ सिट जितेर प्रदेशसभामा चौथो दल भएको छ । यसैगरी,नयाँ दलको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले १–१ सिट समानुपातिकतर्फ निर्वाचित छन् । नेपाल संघीय समाजवादी पार्टीले पहिलो चुनाव जस्तै यस पटकको चुनावमा पनि १ सिट समानुपातिकमा निर्वाचित छन् ।

मधेश प्रदेशमा रहेको कुल १ सय ७ सिटमा सबैभन्दा बढी नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर २३ सिट, नेपाली कांग्रेसले २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोसपाले ९ सिट, नेकपा माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादी पार्टीले ७ सिट जितेका छन् । सरकार निर्माणका लागि ५४ जनाको समर्थन आवश्यक रहेको छ ।

Comment


Related News