अपडेट 
२०७९ पुष ८, शुक्रबार ०८:४०

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता छान्न तीन सदस्य समिति गठन गरिएको छ ।

विहीबार प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रदेश समितिका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दु कुमारी यादव छन् । यी समितिले प्रदेशसभामा दलको नेता चयनका लागि निर्वाचन गराउने छन् । यद्यपि पार्टीले प्रदेश सरकार गठन तथा छलफलका लागि प्रदेश सभापति कृष्णा यादवलाई जिम्मेवारी दिइसकेको छ । कांग्रेसले मधेश प्रदेशमा सरकार नेतृत्वमा दाबी गर्ने प्रदेश समितिले जनाएको छ । ‘माथि छलफल गर्दा मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरी गठबन्धनमा रहेका दल लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी प्रदेशसभापति कृष्णा यादवलाई दिने निर्णय गरियो,’प्रदेश समितिले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दलको नेताको लागि तीन जना प्रदेशसभा सदस्यले दाबी गर्ने बताइएको छ ।

प्रदेश सभापति कृष्णा यादव, पूर्व मन्त्री रामसरोज यादव र वीरेन्द्र सिंहले दलको नेता बन्नका लागि दाबी प्रस्तुत गरिरहेका छन् । कृष्णा र सिंह कांग्रेसको १४ औं महाधिवेशसनमा केन्द्रीय सभापति शेर बहादुर देउवा समूहका छन् भने रामसरोज निधि गुटका थिए । तर पछिल्लो समय उनी पनि देउवा गुटमै गएका छन् । अव तीनै जना देउवा गुटबाटै दलको नेतामा दाबी गरे नेता चयन गर्न सकस हुने अनुमान गरिएको छ । रामसरोज यादवले यसअघि एक कार्यकाल दलको नेताको र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पछिल्लो समय उनले पनि देउवा समूहमा पकड बनाएका छन् । प्रदेशमा कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकतर्फ ९ गरी २२ सिट पाएका छन् । मधेश प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल रहेको छ । २३ सिटसहित नेकपा एमाले पहिलो दल रहेका छन् । तर यहाँ पाँच दलीय गठबन्धकै सरकार बन्ने सम्भावना बढी देखिएको छ । सरकार गठनको लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टी निर्णयक भूमिकामा छन् । जनमतले पनि मुख्यमन्त्री पदमा दाबी गरिरहेका छन् । प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठकले पाँच वटा निर्णय गरेको छ । कृष्णा यादवको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री श्रेष्ठको नेतृत्वमा प्रस्तावहरु पेश गरिएको थियो ।

मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहयोग गरेका सम्पूर्ण नेता, शुभेच्छुक र मतदातासहित पार्टीको केन्द्रीय समितिलाई धन्यवाद दिइएको छ । पार्टीबाट निर्वाचित भएका प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई प्रदेश कार्यालय जनकपुरधाममा बोलाई सम्मान गर्ने पनि निर्णय गरिएको छ ।

Comment


Related News

Latest News

Trending News