
लामो समयदेखि कोरोनाका कारण धराशायी बनेको वीरगञ्जका होटल व्यवसाय नेपाल जेसीजको ४९ औँ महाधिवेशनको प्रतिनिधिले भरिभराउ भएका छन् ।
महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्लाहरूबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूका कारण होटलहरु भरिभराउ भएका छन् । वीरगञ्जस्थित होटल भिष्वामा बिहीवारदेखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरी शनिवार सम्पन्न हुने कार्यक्रम रहेको छ । जेसीजले आफ्ना प्रतिनिधि लगायतका पदाधिकारीहरूलाई बस्नका लागि वीरगञ्जका विभिन्न होटलमा व्यवस्था मिलाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउनसँगै ओरालो लागेको होटल व्यवसाय अहिले चलायमान भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिएका छन् । उनले एकैपटक धेरै पाहुनाले वीरगञ्जका होटलहरु भरिएको हुँदा होटल व्यवसायीमा खुशी छाएको बताए ।
जेसीजका प्रतिनिधिहरुको स्वागतमा वीरगञ्जका प्रत्येक होटलहरुमा ब्यानरसमेत झुण्डयाइएको अध्यक्ष पन्तले बताए । उनले जेसीसको महाधिवेशनको कारण राहत भए पनि पुनः छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमण बढ्दै गइरहेको हुँदा आफूहरू चिन्तित बनेको बताएका छन् ।