अपडेट 
२०७९ पुष ९, शनिबार ०८:१४

राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले शुक्रवार सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ । राजविराज नगरपालिका–१ रामपुर टोल घर भइ सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए । राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मंसिर १० गते शव फेला परेको थियो । आरोपित मंसिर १० गते नै पक्राउ परेका थिए । मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंसिर १० गते किटानी उजुरी दिएको थियो । आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतद्वारा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News