अपडेट 
२०७९ पुष ९, शनिबार ०८:२५

धनुषाधाममा रहेको धार्मिक महत्वका सरोवरको सरसफाइ गरिएको छ । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क देखिएको छ । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।

त्यस्तै, वाणगङ्गा नदी धार्मिक आस्थासँग जोडिएको छ । भगवान श्रीराम,माता जानकी र भाइ लक्ष्मणसँग घुम्न आउँदा माता जानकीलाई तिर्खा लागेपछि भगवान रामले वाण प्रहार गरेर वाणगङ्गाको उत्पत्ति गरेको जनविश्वास छ । सो नदीमा भगवान लक्ष्मणले स्नान गरेकाले वाणगङ्गालाई लक्ष्मण सागरसमेत भन्ने गरिएको छ । यी दुबै सरोवर सरसफाइको अभावमा कुरुप बनेको थियो । स्थानीय सञ्चारकर्मी विनयकुमार यादव नेतृत्वको युवा समूहले धनुष सागर र प्रसिद्ध धनुष मन्दिर सौन्दर्यकरणमा अग्रसर देखिएका छन् । उनीहरुले धनुष सागरमा उम्रिएका झारपात र थुप्रिएर जम्मा भएका फोहोरमैला सरसफाइ गरेका छन् । सरसफाइपछि धनुष सागरमा दुई वटा मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ । त्यस्तै, वाणगङ्गा नदी सरसफाइमा अर्का सञ्चारकर्मी मुकेशकुमार ठाकुरको अगुवाइमा विगत छ महिनादेखि प्रत्येक शनिबारका दिन नियमित सरसफाइ कार्य भइरहेको छ । सरसफाइ अभियानमा जनकपुरधाम गङ्गासागर सरसफाइ अभियानी तथा प्रदेशसभा सदस्य रामअशिष यादव, अभियानी सुरेश शर्मा,जनपद प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्दै आएका छन् ।

रामायणमा उल्लेख भएबमोजिम राजा जनकले पिनाक धनुष उठाउन सक्ने व्यक्तिसँग छोरी सीताको विवाह गर्ने शर्तअनुसार अयोध्याका राजकुमार रामले धनुष उचाल्दा भाँचिएको र सो धनुष तीन टुक्रा भइ आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । धनुषको टुक्रा धनुषाधाम मन्दिरमा स्थापित छ । सोही धनुषको टुक्राको अवशेष दर्शनका लागि आन्तरिक तथा भारतबाट समेत ठूलो संख्यामा धार्मिक पर्यटक आउने गरेका छन् । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थानमा पर्यटन प्रवद्र्धनका लागि राम्रो वातावरण छ । धार्मिक तथा ऐतिहासिक स्थलहरुको उचित संरक्षण संवद्र्धन गरी प्रचारप्रसारमा ल्याउन सके अझ बढी पर्यटक भित्र्याउन सकिने स्थानीय युवा दुर्योधन महतोले बताए । धार्मिक पर्यटक आकर्षणको केन्द्र धनुषाधामस्थित धार्मिक महत्वका सरोवर सरसफाइले आकर्षण बढेको स्थानीय बताउँछन् ।

धनुषाधाम जिल्लाको ठूलो धार्मिक स्थलको रुपमा स्थापित छ । जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्न आउने भक्तजन यहाँ आउने गर्छन स्थानीयको कथन छ । धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले धार्मिक स्थल र धार्मिक आस्थासँग जोडिएका सरोवर सरसफाइमा युवा जुट्नु सराहनीय काम भएको बताए । स्थानीय तहमार्फत विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउँदै नगर प्रमुख मण्डलले पर्यटक आकर्षण गर्नेखालका थप संरचना निर्माणका लागि पर्यटन विभागलगायत सरोकारवाला निकायलाई आग्रह गरिएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News