
अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ। अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो। दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो।
डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट प्राप्त रकम लुटिएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिविर सम्पन्न गरी ह्यस्टनबाट वासिङटन डीसी फर्किने क्रममा रकम लुटपाट भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको छ। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको छ।’ विज्ञप्तिमा के कति रकम लुटियो भन्ने खुलाइएको छैन।
विज्ञप्तिमा दूतावासले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधातप्रति क्षमा मागेको छ।