अपडेट 
२०७९ पुष १०, आईतवार ०८:०४

मधेश प्रदेश सरकार गठन प्रक्रियाको सन्दर्भमा प्रदेशसभामा सर्व दलीय बैठक बोलाइएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलको लागि सोमबार बैठक राखिएको छ । बैठकमा सरकार गठन,नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण गर्ने/गराउने र संसदीय दलको कोठा व्यवस्थापनको लागि बैठक डाकिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेशसभामा दलको प्रतिनिधित्व गर्ने पार्टीको संख्यामा वृद्धि भएपछि संसदीय दलको नेताको लागि भौतिक संरचना अभाव देखिएको छ । उक्त बैठकमा कोठा व्यवस्थापन र शपथ ग्रहणको विषयमा दलहरुले निष्कर्ष निकाल्ने छन् ।

बैठकमा सांसदहरुको शपथ ग्रहणको मिति पनि तोकिने छन् । त्यसपछि सरकार गठनको प्रक्रिया औपचारिक रुपमा दलहरुले अगाडि बढाउने छन् । ज्येष्ठ सांसद नेकपा एकीकृत समाजवादीका ७१ वर्षीय गोविन्द बहादुर न्यौपाने बिरामी भएपछि शपथ ग्रहणमा ढिलाइ भएको छ । उनको ठाउँमा अर्का सांसद शारदा शंकर प्रसाद साहलाई पनि प्रदेशसभाले तयारी अवस्थामा राखेको जनाइएको छ । यी दुबै जनामध्ये एक जनालाई प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गराइने छ । त्यसपछि सोही एक जनाले अन्य सांसदलाई शपथ खुवाउने छन् । मधेश प्रदेशमा २३ सिटसहित नेकपा एमाले पहिलो, २२ सिटसहित नेपाली कांग्रेस दोस्रो र १६ सिटसहित जसपा तेस्रो स्थानमा छन् । मधेशमा जनमत १३, नेकपा माओवादी केन्द्र आठ, लोसपा ९ र स्वातन्त्र ६ जना सांसद छन् ।

यसअघि मधेश प्रदेशको प्रदेशसभामा पाँच दल मात्रै संसदीय दलको आधिकारिकता पाएका थिए । संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा दलको रुपमा प्रदेशसभामा सहभागी थिए भने नेपाल संघीय समाजवादी पार्टीले पनि एक सिट ल्याएर संसदमा प्रतिनिधित्व गरेका थिए । तर यसपालि दुई वटा पार्टी दलकै रुपमा थपिएको छ भने थप तीन दल समानुपातिक रुपमा एक÷एक सिट ल्याएर प्रतिनिधित्व गरेका छन् । पहिले संसदमा सात दलको प्रतिनिधित्व थियो भने यसपालि दश दलले प्रतिनिधित्व गर्दैछन् । जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी नयाँ दलको रुपमा संसदीय दलको रुपमा रहनेछन् । तत्कालीन राजपा अहिले लोसपा छन् भने फोरम जसपा बनेका छन् । यस पटक राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि एक/एक सिट ल्याएर प्रतिनिधित्व गरेका छन् । यी दुबै दल मधेश प्रदेशको संसदमा पहिलो पटक प्रवेश गर्दैछन् ।

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेस्रो दल बनेको थियो ।

Comment


Related News