
सरकार गठनका बिषयमा छलफल गर्न आइतबार बसेको सत्ता गठबन्धनको बैठकपनि निष्कर्षबिहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा दलहरुको अडान कायमै रहेपछि छलफल निष्कर्षबिहीन बनेको हो । गठबन्धनभित्र पहिला को प्रधानमन्त्री बन्ने भन्ने बिषय कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति जुट्न सकेको छ्रैन । बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर निष्कर्षमा पुराउने जानकारी दिनुभयो । उहाले अन्तिम समयसम्म सहमति हुने दावी गर्नुभयो । सरकार गठनका बिषयमा सवै कोणबाट छलफल भएको बताउनुभयो ।

गठबन्धनको बैठकपछि गठबन्धनका दलहरु आन्तरिक छलफल जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिने भएपनि दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।