
अस्पताल सुधारका लागि नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले बिरामी तथा उनका आफन्तबाट गुनासो र सुझाव संकलनका लागि सुझाव पेटिकासहितको साइन बोर्ड स्थापना गरेका छन् ।
जनमत पार्टीबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित डा. सीके राउत तथा सोही क्षेत्रको १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित क्रमशः सतिशकुमार सिंह र महेशप्रसाद यादवले शनिबार संयुक्त रुपमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र साइन बोर्ड र सुझाव पेटिका स्थापना गरेका छन् । सुझाव पेटिकाको नाम “जन आवाज” राखिएको छ । सुझावका लागि स्थापना गरिएको उक्त साइन बोर्डमा “तपाईको उपचार यस अस्पतालमा हुनसकेन, के कारणले हुनसकेन ? सो बारे लेखेर अस्पतालको पूर्जाको फोटो कपीसहित सुझाव पेटिकामा खसाल्नुहोस् ।, हामी सुधारका लागि आवश्यक पहल गर्ने छौं ।” भनि लेखिएको छ ।
“बिरामी र उनका आफन्तबाट बेला बेलामा विभिन्न खाले गुनासोहरु आउन थालेपछि यसको उचित व्यवस्थापनका लागि नयाँ जुक्ति निकालेको प्रदेशसभा सदस्य सिंहले बताए । अब सुझाव पेटिका मार्फत प्राप्त हुने सुझावलाई अध्ययन गरी अस्पतालमा सुधारका लागि विशेष पहल गछौं, अर्का प्रदेशसभा सदस्य यादवले भने, “यसबाट अस्पतालको धेरै समस्या समाधान गर्न मद्दत मिल्ने विश्वास छ ।” सुझाव पेटिका राखेको पहिलो दिनमै आधा दर्जन भन्दा बढी बिरामी र उनका आफन्तले आ–आफ्ना गुनासो र सुझाव राखेको अस्पतालले जनाएको छ