अपडेट 
२०७९ पुष १०, आईतवार ०८:५०

सर्लाहीको हरिपुर र ईश्वरपुरमा एक हजार पाँच सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाण्डुसँग सहकार्य गरी दुई पालिकाका एक हजार ५३० परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

एक परिवार बराबर करिब आठ हजार ५०० रुपैयाँ बराबरको कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिएको बागमती सेवा समाज नेपालले जनाएको छ। कठ्याङग्रिदो चिसोमा न्यानो कपडा पाएपछि विपन्न परिवार खुशी भएका छन्। हरिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा ईश्वरपुर नगरपालिकाको वडा नम्बर १, ३ र ९ का मुसहर, दलित र मुस्लिम परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार आचार्य र हरिपुरमा नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा शनिबारबाट न्यानो कपडा वितरण कार्य शुरु गरिएको छ । दुई पालिकाका एक हजार ५३० परिवारलाई कपडा वितरण गरिसक्न केही दिन लाग्ने संस्थाले जनाएको छ। ईश्वरपुरका नगर प्रमुख मनोजकुमार आचार्यले चिसोले कठङ्याग्रिएर बर्सेनि विपन्न वर्गका मानिसको मृत्यु भइरहेको भन्दै यस्ता सामाजिक संघ संस्थासँग समन्वय गरेर विपन्न वर्गका लागि वितरण गर्न कपडा बैंक स्थापनाको पहल गर्ने बताए । यस्तै,हरिपुरका नगर प्रमुख गोपाल पञ्जियारले कठ् याङग्रिदो चिसोमा संस्थाले प्रदान गरेको सहयोगले अतिविपन्न परिवारको उद्धार भएको बताएका छन् भने हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा तीन जनाको मृत्यु भएको छ।

त्यस्तै, लायन्स क्लब पोखरा मेट्रो सिटीले शनिबार समावेशी अपाङ संघ सप्तरीको समन्वयमा सप्तरीको राजविराजमा एक कार्यक्रम गरी शारीरिक रुपमा असक्त तथा उनका सन्तानलाई न्यानो कपडा र स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरेका छन् । लायन्स क्लब पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज बाग्लेको अध्यक्षतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ एल पोखराका डिस्ट्रिक्ट गर्भनर परमेश्वर बराल, लायन्स क्लब पोखरा मेट्रो सिटीका संस्थापक अध्यक्ष कमल पराजुली, जोन चेयरपर्सन उपेन्द्र अधिकारी, तितृय उपाध्यक्ष राजेश कुमार गुप्ता, बौद्धिक अपाङता महासंघका केन्द्रीय सदस्य जगदीश अर्याल लायन्स क्लब राजविराज सिटीका सचिव ललित झा लगायतले शारीरिक रुपमा असक्त २५ जनालाई प्रति व्यक्ति एक÷एक थान कम्बल, म्याट्रेस, सुइटर र झोला प्रदान गरेका छन् ।

यस्तै २५ जना बालबालिकालाई विद्यालय जान झोला तथा सुइटर, कान छोप्ने टोपी र शैक्षिक सामग्री वितरण गरेका छन् । चार दिनदेखि चलिरहेको शितलहरले शारीरिक रुपमा असक्त तथा विपन्न वर्ग मारमा परेको खबर पाएपछि साढे चार सय किलोमिटर दूरीको यात्रा तय गरी सहयोगका लागि लायन्सको टोली यहाँसम्म आइपुगेको छ ।

Comment

Related News