हुलाकी सडक अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा बल प्रयोग गरी सडक खाली गराइएको छ । सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन स्थानीयलाई पटक–पटक सूचना गर्दा पनि बेवास्ता गरेपछि जिल्लामा भएको सर्वपक्षीय बैठकको निर्णयानुसार सडक खाली गराइएको छ ।
पुस १ गते मलंगवामा बसेको सर्वपक्षीय बैठकले हुलाकी सडकमा अतिक्रमण खाली गर्ने जिम्मेवारी पालिकालाई दिइएको थियो । सो निर्णय अनुसार पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादवको नेतृत्वमा सडकको मापदण्डभित्र पर्ने घर भत्काउने र सीमांकन गर्ने काम गरिएको छ । पर्सा गाउँपालिका–६ का वडाध्यक्ष गणेश साहले शनिबार र आइतबार दुई दिनमा सडकको मापदण्डभित्र पर्ने संरचनालाई सडक खाली गराएका छन् । वडाध्यक्ष साहले वडाले कयौँ पटक सूचना निकालेर सडक खाली गराइदिन आग्रह गरे पनि अटेर गरिएपछि बल प्रयोग गर्नुपरेको बताए ।‘वडाले धेरै पटक सूचना निकालेर आग्रह ग¥र्यो तर कसैले टेरेनन्, जिल्लाबाटै निर्णय भएपछि हामीलाई जसरी पनि सडक खाली गराउन दबाब प¥र्यो,’ वडाध्यक्ष साहले बताए । सडक खाली गराउन सदरमुकाम मलंगवाबाट समेत थप सहयोगका लागि प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले हुलाकी सडक खाली गराउन आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताए ।
करिव ४१ किलोमिटर लामो सर्लाहीको पूर्व– पश्चिम हुलाकी सडक वर्षौदेखि जीर्ण अवस्थामा छ । सडक कालोपत्रे नहुँदा स्थानीय वासिन्दा र यात्रुले अहिले धुलोको मार खेपिरहेका छन् । हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरले सडक खाली भए पश्चात सडक कालोपत्रेको काम अघि बढाइने जनाएको छ । हुलाकी सडक निर्माण गर्न माग गर्दै केही दिनअघि जिल्लाको ब्रह्मपुरी, मलंगवा, मुसैली, कौडेनालगायतका स्थानीयले चक्काजाम गरेका थिए । चारैतिर सडक अवरुद्ध हुन थालेपछि सडक निर्माण गर्न दबाब बढेको थियो । पर्सा गाउँपालिकाबाहेक हुलाकी सडकमा पर्ने अन्य पालिकामा पनि यसैगरी बल प्रयोग गरेरै सडक खाली गर्ने तयारी भइरहेको बुझिएको छ ।


