
साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि यहाँ साहसिक पार्क संचालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाईपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अफ अण्डर’ नामक पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।
वीरगञ्जमा दिन बिताउनका लागि आवश्यक घुमफिर गर्ने स्थानको अभाव रहेकोमा अब यो पार्क संचालनमा आएसंगै वीरगञ्ज घुम्न आउने तथा स्थानीयका लागि पनि दिन बिताउन पार्क फलदायी रहने छ । डेढ विघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजावट गरिएको छ । पार्कमा जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, ¥यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने जनाइएको छ । वीरगञ्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक सौरभ केडिया बताउँछन् । ५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटबल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा पनि लिन सक्ने केडिया बताउँछन् ।
पार्क भित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्नसक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक बेद्यले बताए । पार्कको आइतबार विधिवत पूजा गरेर संचालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विधिवत पूजा गरी पार्ककको उद्घाटन गरेका छन् । उनले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतीत गर्ने ठाउँ मात्रै नभइ रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे ।