अपडेट 
२०७९ पुष ११, सोमबार ०८:०७

जनकपुरधाममा निजी अस्पतालका लापरबाहीका कारण बिरामीहरु झन पीडित हुन थालेका छन् । उपचार गराउन जनकपुरधामका अस्पतालहरुमा लापरबाहीका कारण बिरामी झन पीडित हुन थालेको पाइएको छ ।

जनकपुरधाममा सञ्चालित निजी अस्पतालमा बालबालिका, गर्भवती, र हाड सम्बन्धी रोगको सफल उपचार नभएको पीडितहरुको भनाइ छ । दर्जनौं व्यक्तिहरु अकालमै ज्यान गुमाएको र थप पीडित हुन पुगेको जनकपुरधामका अभियन्ताहरुले जनाएका छन् । मापदण्ड विपरीत सञ्चालित अस्पतालहरुमा डाक्टरहरुको अभाव र सञ्चालकको मनोपरीले गर्दा बालबालिकाहरु उपचार नपाएको र वास्तविक रोग पत्ता नलगाई उपचार गर्ने तथा अन्तिम अवस्थामा रेफर गर्ने गरेकाले बिरामीहरु झन् पीडित बनेको उनीहरुले बताएका छन् । गत मंसिर २८ गते जनकपुरधामको भ्रमरपुराचोकमा सञ्चालित दैविक इन्टरनेशनल अस्पतालमा मोटरसाइकलबाट लडेको भनिएको जनकपुरधाम – २५ लोहनाका अमित कुमार पासमान खुट्टाको उपचार गराउन पुगेका थिए । घटना कहाँ, के र कसरी भएको भन्ने स्पष्ट छैन ? मोटरसाइकलबाट लडेका भनेकै भरमा सो अस्पतालमा अमितको उपचार सुरु भयो । ४ दिनपछि अब यहाँ उपचार सम्भव नहुने कारण देखाउँदै अस्पतालले काठमाण्डुको बि एण्ड बी हस्पिटलमा अमितलाई रेफर गरे । दुःखद त्यस अस्पतालले अमितको खुट्टा काट्नै पर्ने कारण देखाउँदै खुट्टा काटिदिएका छन् । त्यसपछि अमित र उनका परिवार थप पीडित हुन पुगेका छन् । उनीहरुसँग काठमाण्डु उपचार गराउन पनि आर्थिक समस्या छ । आर्थिक अभाव भएपछि अमितका अभिभावक दैविक अस्पतालका सञ्चालकलाई भेट्न जाँदा कुनै सुनुवाइ नगरिएको बताए । २२ वर्षीय अमितको खुट्टा सामान्य फ्याक्चर भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगियो । तर, त्यहाँ विशाल राय नामको व्यक्तिले उनलाई दैविक हस्पिटलमा राम्रो उपचार हुने भनेर लगेको परिवारजनको आरोप छ । अमितको काका सुर्यदेव पासवानले जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरेर अस्पतालको लापरबाहीबारे बताएका छन् । सो हस्पिटलमा अमितको उपचारमा डा. कुमार सम्भवले गरेका थिए । डा. सम्भवले २९ गते बिहान खुट्टामा अपरेसन गरेर स्टिल लगाउने भनेको कुरा अमितका काका सुर्यदेवले बताए । तर दुईदिनसम्म पनि अपरेशन नगरी बरफ र तातोले सेक्ने बाहेक केही नगरेको उनको भनाइ छ ।

चार दिनपछि खुट्टा काम नलाग्ने अवस्थामा पुगी कालो भएपछि चिकित्सकले आफ्नो अस्पतालमा उपचार सम्भव नभएको भन्दै अन्तै लान दबाब दिएको सुर्यदेवले बताए । काठमाण्डुमा भर्ना गरेपछि त्यहाँका चिकित्सकले भने, खुट्टाको अवस्था खराब भइसकेको छ । बिरामी बचाउनु हुन्छ भने खुट्टा काट्नु पर्छ । सामान्य अवस्थाका अमितको खुट्टा काटिन पुगेको र यसमा दैविक हस्पिटलले लापरबाही गरेको सुर्यदेवले बताए । यस विषयमा सम्वन्धित हस्पिटललाई क्षतिपूर्ति तिर्नुपर्ने भन्दा आफूहरुलाई केही थाहा नभएको जे गर्नुछ गर भनेपछि संचारमाध्यमलाई गुहार्नु परेको सुर्यदेवको भनाइ छ । यता, जनकपुरधामका अस्पताल दैविक इन्टरनेशनल हस्पिटलको लापरबाहीले नै खुट्टा गुमाउनु परेको विषयमा मधेश क्रान्ति संघर्ष समितिलाई ध्यानाकर्षण भएको छ । समितिका संयोजक नवीन यादवले सबै कागजात र प्रमाणहरु हेर्दा हस्पिटलको लापरबाही देखिएको छ । हस्पिटलले पीडितलाई न्याय स्वरुप क्षतिपूर्ति दिनुपर्ने तर्क गरे । यता,अस्पतालका प्रशासनले अस्पतालले लापरबाही नगरेको बताए । अमितको खुट्टा अप्रेशन गर्नुपर्ने र त्यसो नभए खुट्टा काट्नु पर्छ भनेको कुरा अस्पताल प्रशासनका रामभरोस महतोले भने‘हामीले पनि खुट्टा काटियोस् भन्ने चाहेको होइन, यदि त्यसो हो भने यहाँ नै उपचार हुन्थ्यो नि । बाहिर लगेर खुट्टा नकाटियोस्, हाम्रो पनि चाहना रहेकोले काठमाण्डुको बि एण्ड बी हस्पिटलमा रेफर गरिएको उनले स्वीकार गरे ।’ त्यस्तै, जनकपुरका नैना अस्पताल, राजधानी जनकपुर, जनकपुर ग्रान्डी, डा. शैलेन्द्र मिश्र लगायतले बिरामी र उनका परिवारलाई झन् दुःख दिने काम गरेको संयोजक यादवले पत्रकार सम्मलेनमा बताए ।

शुक्रबार, जनकपुरमा डा. शैलेन्द्र मिश्रले उपचार गरेका वृद्ध महिला थापाचोकमा रहेको जनकपुर ग्रान्डी हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाइन् । स्वास्थ्यको सबालमा अस्पताल र सो सेवासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरु मौन रहेको छ । नियमनकारी निकायकै मिलेमतोमा सुविधासम्पन्न अस्पतालहरु सञ्चालनमा कमी आएको बताइन्छ ।

Comment

Related News

Latest News

Trending News