अपडेट 
२०७९ पुष ११, सोमबार ०८:१०

भिटामोड– जलेश्वर–जनकपुर सडकको निर्माण कार्य पूरा नहुँदै सडक भत्किदै गएको छ । २०७३ भदौ २४ गतेका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई वर्ष छ महिनामा सम्पन्न हुने लक्ष्यसहित त्यसको शिलान्यास गरेका थिए ।

त्यति बेला सडक निर्माण कार्य सुरु गर्न जलेश्वरको खैरा चौक नजिक शिलान्यास हुँदा वर्षौँ वर्ष देखि सडक भएर आउजाउ गर्नेहरूले भोग्दै आएको समस्याबाट मुक्ति पाउने आशाले स्थानीयहरूमा खुशीको लहर छाएको थियो । वर्षौदेखि सडकको कारण समस्या खेप्दै आएका स्थानीयमा सडक बन्ने कुराले खुशीको सीमा थिएन । दुई वर्ष ६ महिना अर्थात् ३० महिनामै निर्माण सक्नुपर्ने भिटामोड– जलेश्वर– जनकपुर सडक छ वर्ष तीन महिना बितिसक्दा सडक निर्माण कार्य पूरा नहुनु र अर्कोतर्फ निर्माण कार्य पूरा नहुँदै सडक ठाउँ ठाउँमा भत्किन थालेपछि स्थानीयहरू चिन्तित देखिएका छन् । निर्माण कार्य पूरा नै नभइ उक्त सडक खण्डको ठाउँ ठाउँमा सडक बिग्रेर सुख्खायाममा धुलो र वर्षामा हिलो जम्ने गरेको छ । निर्माण कार्य हुन नसकेको ठाउँमा सडकबाट उड्ने धुलो घरको भान्सासम्म पुग्ने गरेका जलेश्वर जिरोमाइलमा घर भएका स्थानीय छेदी चौधरीले गुनासो गरेका छन् । ‘निर्माणाधीन उक्त सडक खण्डको जिरोमाइल नजिक काम नै नहुँदा त्यहाँ धुलो उडेर हैरान बनाएको छ ।’ स्थानीय चौधरीले भने ‘निर्माण सम्बन्धी ठेकेदार र सरोकार वाला निकायको ध्यान तत्काल यसतर्फ जानुपर्ने अत्यावश्यक छ । सडकमा उड्ने धुलोका कारण घरमा बस्न खानसमेत समस्या हुन थालेको छ ।’ मधेश प्रदेशको राजधानी जनकपुरलाई भारतीय सिमानासंग जोड्ने प्रमुख सडकको रूपमा उक्त भिठ्ठामोड जलेश्वर जनकपुर सडक रहेको छ । तोकिएको समय सकिएको तीन वर्ष चार महिना बित्दासमेत कतिपय ठाउँमा सडक निर्माण नै भएको छैन भने कतिपय ठाउँमा निर्माण सम्पन्न भइसकेको सडकसमेत भत्किन थालेको जलेश्वर–१० का स्थानीय फारुख अन्सारीले बताए । ‘निर्माण भएको सडक पनि भत्किन थालेको छ ।

’ अन्सारीले गुनासो गर्दै भने ‘निर्माण कार्य तोकिएकै अवधिमा सक्नुपर्ने हो तर यहाँ त अवधि सकेको पनि दोब्बर समय बितिसक्यो , यो भन्दा ठुलो विडम्बना के होला ? ’ १८.५६ किलोमिटरको सडक निर्माण गर्न ९३ करोड ४३ लाख रुपैयाँमा दुई खण्डमा विभाजन गरी निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो खण्डमा जनकपुरधामस्थित जिरो माइलदेखि महोत्तरीको पिपरासम्म प्रतिभा वाइपी जेबीले ४३ करोड ५४ लाख ७२ हजार ८७४ रुपैयाँ र दोस्रो खण्डमा पिपरादेखि भिठ्ठामोडसम्म ९.५६ किलोमिटर सडक आशिष् पप्पु रोशन जेबीले ४९ करोड ८९ लाख २० हजार ७०७ रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । हुलाकी राजमार्ग परियोजना जनकपुरले साइट क्लियरेन्सको समस्याका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउँदै आएका छन् । सडक खण्डमा पर्ने चार वटा मन्दिरको व्यवस्थापन, टेलिफोनको तार तथा विद्युतको पोल व्यवस्थापन, स्थानीयको अवरोध लगायत कारणले समय सीमाभित्र काम सम्पन्न नभएको हुलाकी राजमार्ग परियोजनाले जनाएको छ । जनकपुरधाम–भिठ्ठामोड सडक खण्डमा पानी निकासको समस्या देखिएपछि थप नौ वटा कल्भर्टको काम पनि थपिएका छन् । कल्भर्ट निर्माणका लागि इलाइट सूर्या जेबीसँग २०७७ भदौ १९ गते २९ करोड २६ लाख ६९ हजार रुपैयाँमा सम्झौता भएको थियो । कल्भर्ट निर्माण २०७९ भदौ १८ मा सम्पन्न गर्नुपर्नेछ । तर उक्त कार्य पनि पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

Comment

Related News

Latest News

Trending News