अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:३४

वीरगञ्ज महानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महानगरले अनुगमनलाई निरन्तरता दिएको छ । महानगरका मेयर राजेशमान सिंह आफैँ सामुदायिक विद्यालयको अनुगमनमा पुगिरहेका छन् ।

निर्वाचनका बेला जनताकाबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर सिंहले त्यसलाई सार्थक बनाउन सामुदायिक विद्यालयको अनुमनलाई निरन्तरता दिएको बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था गुणस्तरीय र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै सिंहले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पढाईका बारेमा जानकारी लिएका छन् । मेयर सिंह छड्के अनुगमनका लागि घण्टाघर नजिकै रहेको नेपाल रेल्वे मा.वि.मा पुगे । मध्यान्ह १२ बज्दै गर्दा विद्यालय छिरेका सिंह त्यहाँ झण्डै १ घण्टा विताए । कक्षा ९ मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोधे । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा र प्रश्न सोधे । सो अवसरमा अधिकांश विद्यार्थीहरुले विषय शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको, परीक्षा शुल्क लिने गरेको जस्ता गुनासा राखे । यस्तै कतिपय शिक्षक समयभन्दा ढिलो आएर समय सकिनु भन्दा अघि नै निस्केर जाने गरेकाले पढाईमा पनि असर परेको विद्यार्थीहरुले बताए । अनुगमनमा पुगेका मेयर सिंहले आफूसँग कुनै डर नमानी समस्या राख्न भनेपछि विद्यार्थीहरुले विद्यालयको झ्याल ढोका ठिक नभएको देखि शौचालयको समस्यासम्म सुनाउन भ्याए । कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको पनि खुलाए ।

त्यसपछि कक्षा ८ मा पुगेर विद्यार्थीसँग कुराकानी गर्दा अझैसम्म पनि पाठ्यपुस्तक नपाएको एक विद्यार्थीले गुनासो गरे । आफूले पटक पटक शिक्षक सँग पुस्तक नभएको बताए पनि पुस्तक उपलब्ध गराउन आनाकानी गरेको भन्दै समस्या राखेपछि तत्काल पुस्तक उपलब्ध गराउन मेयर सिंहले प्रधानाध्यापकलाई निर्देशन दिए । त्यस्तै छात्राहरुले अझैसम्म पनि विद्यालयमा प्याड उपलब्ध नभएको भन्दै छिटो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जवाफमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले अबको २÷३ दिनभित्रै हरेक विद्यालयमा प्याड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको बताए । मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरे । शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न र समयमा कक्षाकोठामा नपुग्ने शिक्षकलाई कारवाही गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिएका छन् । मेयर सिंहले विद्यालयको भवन निर्माण कार्य अधुरै रहेको र प्राङण पनि मर्मत गर्नु पर्ने देखिएकाले त्यसको निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर महानगरमा पेश गर्न प्रधानाध्यापकलाई आग्रह गरे । अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक मुनिलाल कर्णले उपलब्ध साधन स्रोतमै विद्यालयको शैक्षिक गुणस्तर टिकाइरहन काम गरिरहेको प्रतिकृया दिए ।

Comment


Related News