
तेश्रो जेष्ठ नागरिक दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान पु¥याएका ८५ वर्ष माथिका बृद्धबृद्धा सम्मानित भएका छन् ।
जेष्ठ नागरिक संघ तथा पूर्व कर्मचारी सेवा परिषद् सप्तरीले संयुक्तरुपमा सोमवार सामाजिक क्षेत्रमा योगदान गरी दिर्घ जीवन विताई रहेका पाँच जना जेष्ठ नागरिकको खोजी गरी सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राजविराज नगरपालिकाका ९० वर्षीय रघुलाल दास, लुखादेवी झा, ८९ वर्षीय जसकरण कुचेरिया, ८७ वर्षीय किसान महर्जन र ८६ वर्षीय राम नरेश सिंह छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोसल्ला र कदर पत्र प्रदान गरे । “हामी सबैको सरोकार, जेष्ठ नागरिकको अधिकार”भन्ने नारा सहित मनाइएको दिवसमा ज्येष्ठ नागरिक प्रति घर, समाज तथा राष्ट्रबाट सम्मानजनक व्यवहार गर्नू पर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन् । उर्जाशिल समय सन्तान र परिवारका लागी खर्चिने जेष्ठ नागरिक बृद्धावस्थामा उपेक्षाको शिकार हुने क्रम बढ्दै गएको सहभागीले गुनासो पोखे ।
ज्येष्ठ नागरिक संघ सप्तरीका कार्यवाहक अध्यक्ष शंकर शारदाको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा द्वारा संचालित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाका साथै पूर्व कर्मचारी सेवा परिषद् सप्तरीका अध्यक्ष सुगम्बर यादव, सामुदायीक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दास, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, ब्राह्मण सेवा समितीका केन्द्रीय अध्यक्ष श्याम सुन्दर झा, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गर्न र उनीहरुको सहज जीवन यापनका लागी घर परिवार देखी समाज र राष्ट्रले उचित भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा हालै निधन भएका ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी प्रसाद भट्टराइ प्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।