अपडेट 
२०७९ पुष १३, बुधबार ०७:४१

जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन समझौताको समय अवधि सकिएको छ ।

कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको बताइएको छ । भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि नेपाल सरकारले एक वर्षको सम्झौता गरेको थियो । तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनःएक महिनाको लागि सम्झौता अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार रेल सञ्चालन अवधि भारतसँगको २६ दिसम्बर राति १२ बजेदेखि सकिएको हो । यही पुस ५ गते भारतीय कम्पनीलाई एक महिना थप गर्न पत्र पठाइएको थियो । आफ्नै स्वामित्वमा रेल सञ्चालनको लागि दर रेटसहितको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पठाइएको छ । उक्त फाइल भौतिक पूर्वाधार मन्त्रालयमै अड्किएको छ । त्यहाँबाट अर्थ मन्त्रालय जानेछन् । अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेर पठाएपछि आफ्नै स्वामित्वमा रेल सञ्चालन गरिने झाले बताए । ‘सुरुवाती चरणमा इकुपमेन्ट, इन्धन कर्मचारी व्यवस्थापन खर्च बढी भएको छ,’उनले भने,‘आम्दानी कम भएको छ । यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।

रेल नेपाल आएको करिब डेढ वर्षपछि नियमित रुपमा सुरु भएको थियो । केही दिन रित्तै (बिना यात्री) परीक्षण गरिएको थियो । रेल सेवामा २६ जना भारतीय कर्मचारी राखिएको थियो । नेपाल सरकारसँग आवश्यक दक्ष जनशक्ति नहुँदा भारतीय कर्मचारीले रेल गुड्इरहेका छन् । भारतबाट रेल चलाउन ३ जना चालक, ३ जना सहचालक, ८ जना स्टेशन मास्टर, ३ जना प्वाइन्ट्स म्यान, ३ जना मेकानिक्स, सिनियर सेक्शन इन्चार्ज १ जना, सुपरभाइजर ३ जना गरी २६ जना भारतीय कर्मचारी राखिएको छ । सन् २०१० मा भारत सरकारको पूर्ण अनुदानमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमिटरमा रेलमार्गका लागि पूर्वाधार निर्माण गरिने सम्झौता दुई देशका सरकारबीच भएको थियो । त्यसका लागि रू. ५ अर्ब ३८ करोड रुपैयाँ भारत सरकारले अनुदान दिएको थियो । पहिलो चरणमा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३२ किलोमिटरसम्म निर्माणको काम सम्पन्न भएपछि रेल नियमित सुरु भएको थियो । रेलमार्ग निर्माणको काम भारतीय अनुदानमा भए पनि रेल भने नेपाल सरकार आफैले किनेका थिए । भन्सारबाहेक रू. ८५ करोड ६५ लाख रुपैयाँमा पाँचओटा डिब्बासहितका दुई सेट रेल नेपाल सरकारले किनेको छ । यसमा रू. १५ करोड भन्सार कर लागेकाले १ अर्ब रुपैयाँ लागतमा नेपाल सरकारले रेल किनेको हो । एक सेट रेलमा पाँचओटा डिब्बा छन्, जसमध्ये एउटा डिब्बा भने एसी कोच छन् ।

जयनगर– जनकपुर ब्रोडगेज निर्माणका लागि रेल सेवा २०१४ देखि बन्द थियो । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल सेवा सञ्चालनका गर्ने विभागको तयारी छ ।

Comment

Related News

Latest News

Trending News