अपडेट 
२०७९ पुष १४, बिहीबार ०६:४९

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

कोरोनाभाइरस (कोभिड– ९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह बारे जानकारी लिन बिहीबार निरीक्षण गरेका छन् । अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उनले हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन दिए । हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिन र चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे । हेल्थ डेस्कमा बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । कोभिड संक्रमण फैलिन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News