
धनुषासहित मधेश प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको छ । बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भीड लाग्ने गरेको छ ।
चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका–१४ की रञ्जना झाले बताए । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, उनले भनिन्,‘न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने भो ।’ चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासी जाडो बढेपछि मुक्त विपन्न दलित, सिमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदूर र किसानलाई काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहेका मजदूर राम सनेही सदाले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने । यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका दिपो यादवले भने, ‘सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसोमा पनि सिँचाईका लागि दमकल चलाउन खेत आएको छु।’ चिसोले गर्दा काममा जान नसकेको मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाको गुनासो छ । उनले भने,‘दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन । जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’ चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । उनले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुनसक्ने उल्लेख गरेका छन् । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उनले सुझाब दिएका छन् ।
अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ । जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका संचालक रमेशप्रसाद गुप्ताले बताए । जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपीलगायत कपडाहरु बढी बिक्री हुने गरेको बताइएको छ। त्यस्तै , रौतहट का समाचारदाता राकेश यादवका अनुसार पनि चिसोको कारन रौतहटको जनजीवन प्रभावित भएको छ । मंगलवारदेखि तीब्र रुपमा चलेको हावासंगै बढेको चिसोले रौतहटमा नराम्रो असर परेको छ । बिहानदेखि पश्चिमी हावा र बाक्लो हुस्सुको कारण जनजीवन कष्टकर बन्दै गएको र कामकाज समेत प्रभावित भएको छ । गौरमा रहेको सरकारी कार्यालय तथा स्थानीय तहको कार्यालयहरुमा काम गराउने आउनेहरुको संख्या पातलिदै गएको छ । घाम लागेको बेला भरिभराउ रहने रौतहट जिल्ला अदालत,मालपोत कार्यालय , नापी कार्यालय , जिल्ला प्रशासन कार्यालयमा चिसोको कारण सेवाग्राहीको चाप न्यून देखिएको छ । एक्कासी बढेको चिसोले मोटरसाइकल , साइकल चलाउनमा सर्व साधारणलाई समस्या भई रहेको कारण सड़कमा यात्रा गर्नेको संख्यामा पनि कमी आएको छ । चिसोको कारण वृद्ध वृद्धा तथा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु अधिक प्रभावित भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले जाड़ोको याममा हुने जोखिम तथा हुसकिने मानवीय क्षतिका बारेमा कुनै व्यवस्थापन गरेको छैन, न्यानो कपडा तथा ठाउँ ठाउँमा दाउराको व्यवस्थापन गर्नुपर्ने जरुरी देखिएको छ । गौर नगरपालिकाले गौरमा सार्वजानिक ठाउँमा आगोका लागि दाउराको व्यवस्था गरे पनि अन्य स्थानीय तहले यस्तो कार्य प्रति सक्रियता निर्वाह गर्न सकेको छैन ।