अपडेट 
२०७९ पुष १४, बिहीबार ०७:२८

मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोबीन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ आज लिन लागेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।

नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने छन् नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । यसपटक मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व रहेको छ । मधेश प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैटो तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ । मधेश प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।

Comment


Related News

Latest News

Trending News