
रेल गुडेको अवस्थामा चढ्न खोज्दा एक जना यात्रीको बुधवार विहान रेलमा कटेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिकाको राघोपुरका ३५ वर्षीय पुरन दास रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
विदेह नगरपालिका वडा नं ९ वैदेही रेल्वे स्टेशनवाट जनकपुरधामका लागि रेल गुडेको अवस्थामा जबर्जस्ती चढ्न खोज्दा दास पौदानबाट तल चिप्लेर लडेपछि रेलबाट कटेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ज्याला मजदूरीको काम गर्ने दास कामकै क्रममा जनकपुरधाम आउनलाग्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । रेल सञ्चालन भएपछि पहिलो पटक मान्छेको दुर्घटनामा परेर मृत्यु छ । यस अघि बाख्रा मात्र कटेका थिए । नेपाल रेल्वे सञ्चालनमा आएको एक वर्ष नबित्दै एक जनाको रेलबाट कटेर मृत्यु भएको छ । रेल सञ्चालनमा सुरक्षा अपनाउदा अपनाउदै पनि यात्रीको असावधानीका कारणले सो दुर्घटना भएको जनाइएको छ ।