२०७९ पुष १४, बिहीबार ०८:०५

मधेश प्रदेशमा संसदीय दलको नेता बिहीबार दुई दलले चयन गर्ने भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन गर्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम पुगि सकेका छन् । बुधबार जसपा प्रदेश समितिले आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी हुन आएका यादव आफ्नै उपस्थितिमा दलको नेता चयन गराउने तयारीमा छन् । जसपामा दलको नेताका लागि तीन जनाले दाबी गर्दै आएका छन् । पूर्व सभामुख सरोज यादवले दलको नेता बन्न जोडबल गरिरहेका छन् । पार्टीका अध्यक्ष यादवको पनि उनीप्रति झुकाब देखिएको छ । तर मुख्यमन्त्री लालबाबु राउतले पनि दलको नेतामा आफू नै निरन्तरता पाउनुपर्ने भन्दै गृहकार्य गरिरहेका छन् । पार्टीभित्र दलको नेतामा नयाँ अनुहार आउनुपर्ने अवाज पनि उठिरहेको छ । यस्तै,उपनेताको जिम्मेवारी सम्हालिसकेका सांसद रामअशिष यादव पनि दलको नेता बन्न दौडधुप गरिरहेका छन् । उनले पनि आफ्नो दाबी कायम राखेका छन् । बिहीबार नै दलको नेता चयन हुने स्रोतको दाबी छ । केन्द्रमा पार्टी अध्यक्ष यादव निकटका रामसहाय यादव सर्वसहमतिले चयन भएका छन् । सोही अनुसार मधेश प्रदेशमा पनि दलको नेता यादवले चयन गर्नेछन् । जसका लागि पार्टी अध्यक्ष यादवले बुधबार सहभागी भएको समीक्षा बैठकबाट सांसदहरुको मानसाय अनुसार अगाडि बढ्ने बताइएको छ ।

यस्तै, नेपाली कांग्रेसमा सहमति नभएपछि निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा संसदीय दलको नेता चयनका लागि बिहीबार बेलुका ३ देखि ४ बजेसम्म मतदान हुनेछ । बुधबार निर्वाचन समितिले मतदाता नमावली प्रकाशन गरेको थियो । निर्धारित समयमा उक्त नामावलीमाथि कुनै दाबी विरोध परेको छैन् । बिहीबार विहान ९ बजेदेखि १० बजे उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । उम्मेदवारको प्रथम नामावली मनोनयनको ३० मिनेटपछि प्रकाशन गर्ने र ११ बजेसम्म दाबी विरोध गर्न समय दिइएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए । उनका अनुसार उम्मेदवारी फिर्ताको लागि दिउसो २ बजे सम्मको समय राखिएको छ । उम्मेदवारको अन्तिम नामावली २ बजेर ३० मिनेटमा प्रकाशन हुने र ३ बजेदखि ४ बजे सम्म मतदान हुनेछ । सोही दिन निर्वाचन नतिजा पनि सार्वजनिक गर्ने समितिको तयारी छ । नेपाली कांग्रेस मधेश प्रदेशमा संस्थापन पक्षबीचनै प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए । यता, नेकपा एमाललेका सांसद रामचन्द्र मण्डलले शपथ ग्रहणपछि एमालेले दलको नेता चयन गर्ने बताएका छन् । एमाले जस्तै, लोसपा, एकीकृत समाजवादी, जनमत पार्टी र माओवादी केन्द्रले सांसदहरुको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने तयारीमा छन् । उनीहरु सांसदको शपथ ग्रहणलाई पर्खिरहेका छन् । सरकार गठनको लागि गठबन्धन फेरबदलको कारण पनि दलको नेता चयनमा ढिलाइ भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News