अपडेट 
२०७९ पुष १६, शनिबार ०७:५२

मधेश प्रदेशमा दलको नेता चयन गर्न राजनीतिक दलहरुलाई सकस भएको छ ।

कुन पार्टीले नेतृत्व पाउने विषयको टुङ्गो नलाग्दा नेता चयनमा ढिलाइ समेत भएको छ । प्रदेशमा नेकपा एमाले ठूलो दल भए पनि यहाँ गठबन्धनका अन्य दललाई नेतृत्व दिने केन्द्रीय नेताहरुको हाल सम्मको तयारी छ ।

जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले यहाँ पहिलो पटकमा मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्दै आएका छन् । कुन दलले पाउने तय हुन नसक्दा दाबेदार पार्टीहरुले दलको नेता चयन गर्न सकेका छैनन् । यद्यपि जसपाले नेता लाल किशोर साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ । समितिले सहमतिमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । तर सहमति नभए यही पुष १८ र १९ गतेको केन्द्रीय कार्यकारिणी समितिको वैठक पछि निर्वाचन गर्ने निर्वाचन समितिका संयोजक साहले जानकारी दिए । जसपामा सरोज कुमार यादव, लाल बाबु राउत र रामअशिष यादवले दाबी गरिरहेका छन् ।

जनमत पार्टीले पनि जसपाजस्तै केन्द्रको निर्णयलाई पर्खिरहेका छन् । हुनत मधेश प्रदेशमा दलको नेता चयन गर्ने सर्वाधिकार पार्टीका अध्यक्ष सीके राउतलाईनै दिइएको छ तर, केन्द्रले सरकार बाँडफाँटको विषयमा गर्ने निर्णय अनुसार दलको नेता चयन गर्ने जनमतले तयारी गरिरहेको छ । जनमतले नेतृत्व गर्ने अवसर पाए इन्जिनियर बसन्त कुशवाहालाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने गृहकार्यमा छन् । जनमतले नेतृत्व गर्ने अवसर नपाए अन्य सांसदलाई पनि दलको नेता बनाउन सक्ने नेताहरुको भनाइ छ ।

एमालेले पनि आगामी बुधबार सम्म दलको नेता चयन गर्ने तयारीमा छन् । यहाँ मुख्यतः दुई जना सांसदले दलको नेता बन्न दाबी गरिरहेका छन् । रामचन्द्र मण्डल र सरोज यादवले दलको नेतामा दाबी गर्दै आएका छन् । तर राजकुमार लेखीले पनि पार्टीले जिम्मेवारी दिए निर्वाह गर्ने मनसायमा छन् ।

Comment


Related News

Latest News

Trending News