अपडेट 
२०७९ पुष १६, शनिबार ०८:११

करिब २० वर्षदेखि सीमाको जग्गा सम्बन्धी समस्या खेपिरहेका मुखियापट्टीका किसानले आफ्नो जग्गा उपभोग गर्न पाउँ भनी गरेको प्रयास सफल भएको छ।

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं. २८८ देखि २८९/८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सिमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसानले पुनः आफ्नो जमिन उपभोग गर्न पाउँदा हर्षित भएका छन्। नेपाल तथा भारत दुबैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा दुबैतर्फका किसानले आफ्नो लालपूर्जा अनुसारको जग्गा उपभोग गर्न पाउने भनी यही पुस १२ गतेको निर्णयमा उल्लेख भएको मुखियापट्टी गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए। खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा धनुषाका किसान हर्षित भएका छन्। फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवले विगत एक वर्षदेखि उक्त समस्यामा परेका किसानहरूको पक्षमा अभियानले पीडित किसानले न्याय पाएको बताएकी छन् । विगत एक वर्षको पहलमा वडास्तरीय बैठकदेखि सीमा प्रभावित खाद्य अधिकार समूह पनि गठन गरेर त्यस्तो समूहलाई एकजुट बनाइ वडादेखि पालिका हुँदै जिल्लास्तरसम्म भूमि फिर्ता गर्ने प्रयास सफल भएको छ, फियानका संयोजक यादवले भनिन्। आफूले कर तिरेको जमिन पूर्ण रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने प्रयास सफल भएको छ उनले भनिन्। मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल– भारत सिमानामा पर्ने उक्त नदीले बहाव परिवर्तन गर्दा १५ जना किसान प्रभावित भएका थिए। आफूले कर तिर्दै र उपभोग गर्दै आएको खेतीयोग्य जमिन भारततर्फ पर्दा लामो समयसम्म हातमा लालपूर्जा हुँदा पनि भूमिहीन जस्तो भएर जीवनयापन गर्नुपरेको किसान भिखारी यादवले बताए । उनले भने आश थिएन, यस जन्ममा यो जग्गा फिर्ता पाउँछौँ भनेर, किनकि विगतमा धेरै प्रयास गरियो तर पनि कुनै उपाय लागेन। खोलावारिबाट आफ्नो जमिन टुलुटुलु हेर्दै बस्नुपथ्र्यो । विगतको दिनमा पनि सो जग्गामा खेती गर्न नपाउँदा निराशा भोग्नु परेको थियो तर लामो समयपछि पनि आफूले कर तिरेको जमिन भोगचलन गर्न पाउँदा निकै नै हर्षित भएको उनले बताए । अर्का किसान जिवछ यादव पनि आफ्नो जग्गामा आफैँले परिश्रम गर्न पाउने भएपछि खुशीको सीमा छैन बताए । खेती किसानीबाट घर गुजारा गर्दै परिवार पाल्ने जिवछ आफूले तिर्दै आएको करको जग्गा भारततर्फ पर्दा बीस वर्षसम्म परिवार धान्न धौधौ भएको पीडा पोखे।

Comment


Related News

Latest News

Trending News