
मधेश प्रदेश र बागमती प्रदेशसभाका सदस्य सहित सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्षमाथि अनुसन्धान शुरु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको शिकार गरेको घटनामा उनीहरुमाथि अनुसन्धान शुरु भएको छ । निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई घटनाको अनुसन्धानका क्रममा बोलाएको जनाइएको छ । अनुसन्धानका लागि बोलाइएका खड्का काठमाण्डु क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य छन् । निकुञ्ज स्रोतका अनुसार कांग्रेस नेता खड्काको नाममा रहेको बन्दुक बरामद भएपछि उनलाई अनुसन्धानका लागि बोलाइएको हो । काठमाण्डु घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ । निकुञ्ज टोलीले मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसबाट गाडेको अवस्थामा चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।
प्रमोद मंसिर ४ गते सम्पन्न भएको चुनावमा पर्सा क्षेत्र नं ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर मधेश प्रदेशसभामा निर्वाचित भएका थिए । शिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । छड सिमेन्टको कारोबार गर्ने जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा छ । त्यसैले उनलाई समेत किन कारबाही नगर्ने हो प्रमाणसहित उपस्थित हुन भनिएको छ । निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अन्य केही व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्नका लागि बोलाइएको जानकारी दिए । ‘पक्राउ परेका व्यक्तिहरुले बयानका क्रममा नाम पोलेका सबै जनालाई अनुसन्धानका लागि बोलाएका छौं’ उनले भने ।