अपडेट 
२०७९ पुष १८, सोमबार ०७:५४

प्रदेशसभामा निवार्चित भएपछि सप्तरी क्षेत्र नं.२ का प्रदेशसभा सदस्यले पहिलो पटक जिल्ला भरिकै कार्यालय प्रमुखहरुको भेला गराइ विद्यमान समस्या र सुधारका लागि पहल थालेका छन् ।

प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य सतिश कुमार सिंह र २ को २ बाट निर्वाचित महेश प्रसाद यादवले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमेतको समन्वयमा आइतवार राजविराजमा सबै सरकारी कार्यालयका प्रमुख तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको भेला गराइ यस्तो पहल थालेका छन् । नवनिवार्चित प्रदेशसभा सदस्य जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए । जनतालाई चुस्तदुरुस्त सेवा प्रवाहका लागि पहिले कार्यालय प्रमुखहरुबाट समस्याबारे जानकारी लिने र त्यसपछि आवश्यक पहल गरिने प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए । प्रदेशसभा सदस्य सिंह र यादवका साथै प्रमुख जिल्ला अधिकारी थापाले सो बैठकमा जनतालाई सेवा प्रवाहमा सुधार ल्याइ गुनासो न आओस भनी ध्यानाकर्षण गराएका थिए । बैठकमा धेरैजसो कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभावका कारण काममा समस्या परिरहेको बताउँदै यसतर्फ आवश्यक पहल गर्न आग्रह गरेका थिए । बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले कार्यालयमा सिटामोलसम्म किन्ने बजेट नहुँदा स्थानीयतह र प्रदेश सरकारको मुख ताकेर बस्नु परेको गुनासो पोखे ।

उनले भने–कतैबाट बजेट नआउँदा एक पत्ता सिटामोल किन्न पनि विभिन्न पालिका र प्रदेश सरकारसंग सहयोगका लागि पटक – पटक आग्रह गरेको बताए। नेपाल टेलिकमका शाखा प्रमुख हसन अन्सारीले कर्मचारीको चरम अभावले सेवा प्रवाहमा समस्या भइरहेको जानकारी दिँदै एकातिर कर्मचारीको चरम अभाव छ भने अर्काेतिर नियमित नेटवर्कका लागि २२ वटा टावर राख्नुपर्नेमा बजेट नहुँदा अहिले २ वटा टावरले मात्र काम चलाउनु पर्दा बेला बेलामा समस्या हुने गरेको छ । तिलाठी कोइलाडी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले कर्मचारीको चरम अभावका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै प्रदेश लोकसेवा आयोगबाट भए पनि यथाशक्य विज्ञापन र रिक्त पदपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले रिक्त रहेको दरबन्दी पदपूर्ति नहुँदा र आवश्यक बजेटको अभावमा कृषि क्षेत्रमा समस्या उत्पन्न हुने गरेको बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमृुख रेखा यादवले कर्मचारी तथा भौतिक पूर्वाधारको अभावमा काम गर्न अप्ठ्यारो भइरहेको भन्दै यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

कार्यक्रमका अधिकांश सहभागी कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभावप्रति ध्यानाकर्षण गराएपछि प्रदेशसभा सदस्यद्वय सिंह र यादवले उक्त समस्या समाधानका लागि आफूहरुले प्रदेशदेखि केन्द्रसम्म आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comment

Related News

Latest News

Trending News