२०७९ पुष १८, सोमबार ०८:२०

मधेश प्रदेशको दोस्रो कार्यकालको पहिलो प्रदेशसभा बैठक सोमवार बस्ने भएको छ ।

गत शुक्रवार शपथग्रहण गरेका प्रदेश सांसदहरुको पहिलो बैठकमा शुभकामना आदानप्रदान हुने छ । संवैधानिक प्रावधान अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेशसभाको बैठक आह्वान गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकले १८ गते प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मधेश प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । त्यसमध्ये दुईजनालाई सभासदको रुपमा शपथग्रहण गराउन सर्वोच्च अदालतले रोक लगाएको छ । हाल १ सय ५ जना कायम रहेका छन् ।

प्रदेशसभाका सभामुख र उपसभामुख चयन गर्न पुस ३० गते उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । संघीय सत्ता गठबन्धनकै आधारमा मधेश प्रदेशमा सरकार गठन र सभामुख,उपसभामुखको चयन हुनेछ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले सभामुख बनेका नेकपा एसका सांसद गोविन्दबहादुर न्यौपानेले गर्ने छन् । उच्चस्रोतका अनुसार मधेश प्रदेशको पहिलो चरणमा जसपाको मुख्यमन्त्री रहनेछ ।सभामुख एमालेले पाउने छ । एमालेले सभामुखका लागि उम्मेदवारको चयन गरिसकेको छैन् । सभामुखका लागि त्रिलोकी चौधरी, शारदा थापा र राजकुमार लेखीको नाम अगाडि आएको छ । एमालेको प्रदेश सभामा २३ जना सांसद रहेका छन् । पार्टीले उपयुक्त ठानेका सांसदलाई सभामुख चयन गरिने एमालेका युवा सांसद दीपेन्द्र ठाकुरले जनाए ।सभामुखका लागि दलमा कुनै विवाद नहुने उनले दाबी गरे । लेखी संसदीय दलको नेताका लागि इच्छुक रहेको देखिन्छ । तर उनले दलको नेतामा स्थान नपाए सभामुखका लागि प्रयास गर्नसक्ने बताइन्छ ।सभामुखका लागि रामचन्द्र मण्डल पनि सशक्त दाबेदार रहेका छन् । तर उनी धनुषाबाट सरकारमा जाने सम्भावना रहेको छ । प्रदेशसभामा मण्डल आर्थिक समितिका सभापति रहेका थिए ।तर माओवादी केन्द्र परित्याग गरेसँगै उनको सदस्य पद खारेज गरिएको थियो ।

संघीय सत्ता गठबन्धनमा रहेका दलहरुबीच भएको सहमति अनुसार मधेश प्रदेशमा मुख्यमन्त्री जसपाले र सभामुख एमालेले पाउने सहमति भएको छ ।मुख्यमन्त्री आलोपालो भनिए पनि सभामुख पाँच वर्षका लागि रहने बताइएको छ । यस अघि जसपाका नेता सरोज कुमार यादवले पाँच वर्षे सभामुखको कार्यकाल पूरा गरेका छन् । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) बाट सभामुख भए पनि एकीकरण हुँदा जसपामा नै रहेका थिए । सभामुख र उपसभामुखमध्ये एकजना महिला अनिवार्य रहनुपर्ने प्रावधान छ । यस अघि जसपाबाट उपसभामुखमा उपमा देव रहेकी थिइन् । उपसभामुखमा माओवादीको दाबी छ । माओवादीलाई उपसभामुख दिने सहमति भइसकेको बताइएको छ । स्रोतका अनुसार मुख्यमन्त्रीमा दाबी गरिरहेको जनमत पार्टीलाई भने पहिलो चरणमा २ वटा मन्त्रालय दिनेछ । यद्यपि जनमतले पहिलो चरणमा मुख्यमन्त्री लिने दाबी छाडिसकेको छैन् ।जनमतको संसदीय दलको नेतामा महेशप्रसाद यादव सर्वसम्मतले चयन भइसकेका छन् । उनकै नेतृत्वमा जनमत सरकारमा जाने सम्भावना रहेको स्रोतले जनाए । प्रदेशमा जनमत चौथो ठूलो दल बनेको छ । जनमतको १३ जना सांसद प्रदेशमा रहेका छन् । जसपा, जनमत र माओवादी केन्द्रले बराबरको भाग पाएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सरकारमा माओवादी र नेकपा एस सहभागी थिए । एमाले प्रमुख प्रतिपक्षमा रहेका थिए । जनमत पार्टी पहिलो पटक प्रदेशसभामा प्रवेश गरेको छ ।

तत्कालीन सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएपछि मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुलाई हटाइएको थियो । संघीय गठबन्धनमा नेकपा एसको सहभागिता हालसम्म नभएकाले प्रदेश सरकारमा पनि सहभागिता हुने सम्भावना छैन् । एसको ७ जना सभासद रहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)पनि सरकारमा सहभागी हुने सम्भावना छ । प्रदेशमा लोसपाको ९ जना सभासद छन् । प्रदेशमा सबै भन्दा ठूला दल रहेका एमाले सरकारमा सहभागी भए पनि नेतृत्व पाउने छैन् । दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहनेछ । नेकांको २२ जना सांसद छन् । नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाल समाजवादी पार्टी(नेसपा)को विषयमा टुंगो लागिसकेको छैन् ।नागरिक उन्मुक्ति पार्टी र राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गरेका छन् ।तर ती पार्टी सरकारमा सहभागी भइसकेको छैन् ।

Comment


Related News

Latest News

Trending News