
रौतहटसहित तराईमा चिसो बढेर जनजीवन कष्टकर बनेपछि चिसोबाट जोगाउन गरुडा र गढिमाई नगरपालिकाले आगो ताप्ने व्यवस्था मिलाएको छ ।
चिसो छल्न दुबै नगरपालिकाले प्रत्येक वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ । गरुडा नगरपालिकाको ९ वटै वडाका वडाअध्यक्षको रोहवरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न दाउरा उपलब्ध गराएको छ । विहान र बेलुका बाक्लो हुस्सु तथा दिनभरी चल्ने गरेको चिसो हावाले जनजीवन निकै कष्टकर बनेपछि ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन् । आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर् याउने व्यवस्था मिलाइएको बताउँदै नगरप्रमुख जयसवालले आवश्यक परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरेका छन् । गरुडा बजार, विर्ता चोक, शिवनगर चोक लगाएतका ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै,गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले पनि आफना नगरको ९ वटै वडाको चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था मिलाएका छन् ।
अत्याधिक मात्रामा बढेको चिसोबाट जोगाउन दाउराको व्यवस्था गरेको मेयर यादवले बताए ।