
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एक प्रहरी हवल्दार कारबाहीमा परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपूरा चोक स्थित एक ग्यारेजमा सोमबार मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरी हवल्दार विपिन कुमार साह कारबाहीमा परेका छन् । हवल्दार साहले मदिराको नशामा गाली गलौज तथा तोडफोड गर्दै गरेको भिडियो सार्वजनिक भएपछि कारबाहीमा परेको जिप्रका धनुषा प्रमुख विश्व राज खड्काले बताए । उनले भने,‘मदिरा खाएर हवल्दार साहले होहल्ला गरेको बुझिएको छ र उनीसंग स्पष्टीकरण मागसमेत गरिएको छ भने उनीमाथि विभागीय कारबाही गरिने छ ।’ जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवल्दार साहलाई स्पष्टीकरण माग गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ग्यारेजमा मदिरा खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पडले हिर्काएको समेत सार्वजानिक भएको भिडियोमा प्रष्ट देखिन्छ । यता हवल्दार साह आवेशमा आएर आफ्नो मुखबाट गाली निस्केको स्वीकार गरेका छन् । भिडियोमा २ लाख ७ हजार रुपैयाँको कुनै विवादसमेत रहेको देखिए पनि हवल्दार साहले कुनै विवाद नरहेको दाबी गरेका छन् ।