अपडेट 
२०७९ पुष १९, मंगलवार ०८:४२

प्रहरीले गौशाला नगरपालिकाको जेसिभी र ट्रयाक्टर नियन्त्रणमा लिएको लामो समय बितिसक्दा पनि नछोडेको कारण नगरपालिकाको कामकाज प्रभावित भएको छ ।

जेसिभी र ट्रयाक्टर नहुँदा सातदिन यतादेखि फोहर संकलनको काम ठप्प भइ नगर क्षेत्र दुर्गन्धित बनेको छ भने गौशाला नगरपालिका —९ मा पर्ने रामनगर चिनीमिल पुग्ने बाटो नबन्दा उखुँ किसानहरुसमेत मर्कामा परेको मेयर डा.दीपेन्द्र महतोले बताएका छन् । त्यसैगरी,नपाका प्रशासकीय अधिकृत वीरेन्द्र जंङ थापाले जनसेवाका लागि स्थापित एउटा निकायलाई अर्को निकायले सहयोग गर्नुको साटो सवारी नियन्त्रणमा लिएर समस्या उत्पन्न गर्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरे । उनले जेसिभी र ट्रयाक्टर किन नियन्त्रणमा लिएको भन्दै इलाका प्रहरी कार्यालयलाई कारण जनाउन भनी पत्राचारसमेत गरिसकेको जनाउँदै पत्रको जवाफ आएपछि अगाडिको काम कारबाही अघि बढाउने बताए ।

गौशाला रामनगर सडक खण्ड मरम्मत सम्भारकै क्रममा इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको टोलीले ट्रयाक्टर र जेसिभी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइसकेपछि कार्यहरु प्रभावित भइ समस्या उत्पन्न भएको गौशाला नपा–९का वडाध्यक्ष बद्री प्रसाद दनुवारले बताए। उनले सडक मरम्मतको लागि प्रयोग हुने जेसिभी नै प्रहरीले नियन्त्रणमा लिएपछि सो क्षेत्रका दर्जनौ उखुँ किसानहरुले उत्पादनलाई मिलसम्म पु¥याउन नसक्नु जस्ता समस्या उत्पन्न भएको वडाध्यक्ष दनुवारले जानकारी दिए ।

ट्रयाक्टर र जेसिभी नै उपलब्ध नहुँदा फोहर संकलन तथा व्यवस्थापनमा ठूलो समस्या उत्पन्न भएको सर–सफाइ इन्चार्ज देवनारायण महतोले बताए । प्रहरीले सवारी साधनहरु नियन्त्रणमा लिएको सातादिन माथि भइसक्दा पनि कुनै सुनुवाई नभएकोले सर्वसाधारणहरु आक्रोशित बन्दै गएकोसमेत सफाइ इन्चार्ज महतोले बताए ।

गत बिहीवार वडा नम्बर ६ र ९ स्थित बिग्रेको सडक मरम्मत गर्ने क्रममा प्रहरी नायब निरीक्षक अनिल कुमारको नेतृत्वमा गएको टोलीले नगरपालिकाको एउटा ट्रयाक्टर तथा एउटा जेसिभी सवारी साधन नियन्त्रणमा लिएको थियो । सो क्रममा चालकद्वय अशोक कुमार महतो र रामदरेस महतोलाईसमेत नियन्त्रणमा राखिएको थियो । चालकद्वयलाई करिब तीन घण्टा नियन्त्रणमा राखेपछि छाडिएको थियो ।

यता इलाका प्रहरी कार्यालयमा यस बारे जानकारी लिन जादा जिल्ला समन्वय समिति महोत्तरीको निर्देशनमा हामीले ट्रयाक्टर र जेसिभी नियन्त्रणमा लिएको प्रतिक्रिया दिइएका छन् । प्रहरी निरीक्षक रन्जन मिश्रले भने,‘ नदी उत्खननबारे अनुगमन गर्न जिससको टोलीको आदेशानुसार हामीले जेसिभी र ट्रयाक्टर नियन्त्रणमा लिएका हौं ।’

Comment


Related News

Latest News

Trending News