
महिला अधिकारको लागि ठूल–ठूला कुरा गर्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा जगरनाथपुर गाउँपालिकामा एक दलित महिला अमानवीय घटनाको शिकार बनेकी छन् ।
बोक्सीको आरोपमा जगरनाथपुर गाउँपालिका–३ खलुचडीका ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट घाइते भएकी सुदामा देवीको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । महिलाको टाउको, घाँटी लगायत शरीरको विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आइतवार साँझ घरमै चिसो छल्न घुर ताप्दै गरेको समयमा सुदामालाई छिमेकीहरुले नै तथाकथित बोक्सीको आरोपमा कुटपिट गरेको पीडित परिवारको दाबी छ । स्थानीय नबी आलम राउत गद्दी, रैफुल मास्टर राउत गद्दी, बासुदेव महरा चमार र सुरेश महरा चमार लगायतले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको सुदामाको छोरा प्रभु महराले जानकारी दिए । उनले भने,‘म नयाँ वर्षको पिकनिक मनाउन गएको थिएँ, आमा घरमै घुर तापिरहनुभएको थियो ,अचानक छिमेकका चार,पाँच जना मिलेर बोक्सीको आरोपमा कपाल समातेर बाँसको भाटाले हानेर कुटपिट गरेछन् । दाँत लागेपछि छोडेर भागेछन् ।’ घटनापछि प्रहरीको सहयोगमा आमालाई एम्बुलेन्समा राखेर नारायणी अस्पताल पु¥याएको महराले बताए । आमालाई मल मूत्र खुवाउने प्रयास गरिएकोमा स्थानीयवासीहरुले सो घटना हुनबाट रोकेको उनले बताए । तथाकथित बोक्सी आरोपमा अमानवीय कार्य गर्नेहरुमाथि स्थानीय प्रहरी कार्यालयमा उजुरीसमेत दर्ता गराएको उनले जानकारी दिएका छन् । केही दिन पहिलादेखि नै मौखिक रुपमा बोक्सी भन्दै गिज्याउने गरेको पीडा सुनाउँदै महराले भने ,‘धेरै सहन गरिसकेँ अब सहन गर्न सकिन्न् हामीलाई न्याय चाहियो ।’ भन्दै उनले सम्बन्धित निकायसमक्ष न्यायको लागि गुहार लगाएका छन् ।
दलित परिवार भएकै कारण सुदामाको परिवारलाई छिमेकीहरुले हेप्ने गरेको स्थानीयवासीहरु बताउँछन् । यता, प्रहरीले भने सुदामाको छिमेककै ४० वर्षीया विन्दा देवीसँग भाँडा वर्तनको विषयलाई लिएर विवाद भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने बोक्सी आरोप लगाएको भन्ने विषयमा आफूलाई जानकारी नरहेको बताएका छन् । ‘बेटी पढाउ बेटी बचाउ’ लगायतको कार्यक्रम मार्फत महिलाको लागि कार्यक्रम गरिरहेको दाबी गर्ने मुख्यमन्त्रीकै गाउँमा भएको यस घटनाको चौतर्फी आलोचना भइ रहेको छ ।